प्रजातन्त्र नमासिने गरी राष्ट्रपतिको ठाउँमा राजा ल्याइन्छ : सांसद शाही

‘खुलामञ्चबाट पाँच हजार हत्याको जिम्मा लिन्छु भनेको होइन ?’


२०८१ चैत ३ आइतबार ०१:११ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र बहादुर शाहीले अहिलेको व्यवस्था जनतालाई नभइ सीमित नेताहरूलाई चाहिएको बताएका छन् ।

आज (आइतबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले पछिल्लो १६ वर्षको अवधिमा अहिलेको व्यवस्थाले जनताको अवस्था परिवर्तन नभएको भन्दै सीमित नेताहरुलाई मिलेर खानलाई अहिलेको व्यवस्था चाहिएको दावी गरे । उनले प्रजातन्त्रसहितको राजतन्त्र आफूहरूको मुद्दा भएकाले राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्था आवश्यक रहेको तर्क गरे । सांसद शाहीले अहिलेको व्यवस्थामा राष्ट्रपति र प्रधानमन्त्री जनताले नभइ सीमित सांसदहरूले चुनेको भन्दै हिम्मत छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चयन हुने व्यवस्थामा जान चुनौति समेत दिए ।

उनले नेपालमा गणतन्त्र र संघीयता पूर्णरुपमा असफल भइसकेको भन्दै उनले प्रजातन्त्र नमासिकन राष्ट्रपतिको ठाउँमा र राजा ल्याउने उदघोष समेत गरे । सांसद शाहीले मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? भन्दै प्रश्न गरेका छन् । आज (आइतबार) प्रतिनिधिसभा बैठकमा नेकपा एमाले सांसद रघुजी पन्तले राजतन्त्रकालका हत्याको शृंखला सम्झाएपछि उनले त्यस्तो जवाफ फर्काएका हुन् ।

‘यहाँ आएर जे मन लाग्यो त्यही बोल्ने ? अघि हत्याराका कुरा गर्नु भएको थियो, मदन भण्डारीको हत्या कसले ग¥यो ? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले प्रधानमन्त्री हुनुहुन्छ’, शाहीले भने, ‘मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? यसको जवाफ यस संसद्लाई चाहिन्छ ।’ उनले दुईतिहाइको सरकार भएका बेला त्यो हत्याको याद आएन ? भन्दै थप प्रश्न गरे । ‘हत्याको कुरा गर्नु हुन्छ ? राष्ट्रपति तपाईहरूकै थिए । प्रधानमन्त्री तपाईंहरू नै हुनुहुन्थ्यो । संसद्मा दुईतिहाइ थियो । अनि, मदन भण्डारीको हत्याको याद आएन ?’, उनले प्रश्न गरे ।

काण्ड सम्झाइदिऊँ ? भन्ने पन्तको भनाइमा उनले निर्मला पन्तको हत्यारा पत्ता लगायौं ? भन्दै प्रश्न गरे । उनले थपे, ‘बाँदरमुडे घटना याद छ । निहत्था नागरिकलाई बम हानेर मारेको हो कि होइन ?’, उनले भने, ‘लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्याराहरू यही संसद्मा सांसद बनेर हिँडिरहेका छन् । यसको जवाफ चाहिन्छ कि चाहिँदैन ?’

उनी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति पनि खनिएका छन् । ‘खुल्लामञ्चमा उभिएर पाँच हजार मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो । भारतको दिल्लीमा नेपालमा निहत्था मान्छे मार्नुपर्छ भनेर अघि बढ्ने व्यक्ति यही देशको सांसद र मन्त्री बन्न पाउने व्यवस्था उत्तम हो ?’, उनले भने । उनले राजासहितको प्रजातन्त्र चाहिने भन्दै खुला बहस गर्न तयार रहेको बताएका छन्। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७