फूल मेलामा रमाइरहेका ‘फूलप्रेमी’

–बुनु थारू
काठमाडौं । भृकुटीमण्डप प्रवेश गर्ने बित्तिकै फूलैफूलको द्वार देख्न सकिन्छ । द्वार (गेट) प्रवेश गर्ने बित्तिकै लाग्छ विभिन्न रङगीचङ्गी फूलहरूले स्वागत गरिरहेका छन् । थरिथरिका फूल तथा बोटबिरूवामा मौरीझैं झुम्मिएका देखिन्छन् फूलप्रेमीहरू ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरू भएको २६औं पुष्प मेला (फ्लोरा एक्स्पो) को दृश्य हो यो । फूलैफूलको संसारमा रमाइरहेको भेटिइन्, प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापा । पुष्प मेलामा फूल किन्दै गर्दै भेटिएकी थापाको हातमा ‘जेरानियम’ फूलको बोट थियो भने अर्को हातमा थप अरू फूलका बिरूवाहरू ।
उनी बोटबिरूवाको सौखिन छिन् । उनलाई मौसमअनुसारको फलफूल तथा तरकारी आफै फलाएर खाने इच्छा लाग्छ । कौसीखेती गर्दै आएकी उनले सागसब्जी, फूलहरू रोपेकी छन् । सकेसम्म अग्र्यानिक खाने प्रयत्न गर्छिन् थापा । ‘यस्तो मेला लाग्ने बित्तिकै एकपटक छिरिहाल्छु । फुर्सद हुँदासम्म आफै रोप्ने, बोटबिरूवाको स्याहार्ने काम गर्छु’, थापा भन्छिन् । पुष्प मेला हेर्न भक्तपुरबाट आएकी समृद्धी राईले छवटा फूलहरू किनिन् । उनी हरेक वर्ष मेलामा आउँछिन् र मनपरेका फूलहरू किनेर लग्छिन् । उनी भन्छिन्, ‘फूलप्रेमीलाई त मेला औधी रमाइलो लाग्छ । मैले थुप्रै फूलहरू रोपेकी छु । फूलको संकलन गर्न मनपर्छ । घरभरि नै सजाएर राखेको छु ।’
मेलामा कसैको आँखा गमलामा तथा कसैको आँखा ठूलो फुल्ने फूलहरूमा देखिन्थ्यो । मौसमअनुसारको फुल्ने फूलहरूमा धेरैको चासो गइरहेको थियो । मेलामा जेरानियम, लाहुरे फूल, सिनारेरिया, पेटुनिया, गुलाब, लिली, कार्नेसनलगायत सयौँ प्रकारका आउटडोर तथा इन्डोर फूल तथा बोटबिरूवा प्रदर्शनीमा राखिएको थियो ।
कीर्तिपुरका साहिल श्रेष्ठ ‘अर्किड ’को संकलन गर्न मन पराउँछन् । उनले मेलामा विभिन्न प्रकारका अर्किडको खोजीमा आएका थिए । तर भने जस्तो पाएनन् । उनी भन्छन्, ‘खासै खोजे जस्तो पाइएन । मसित भएका नै रहेछन् प्रायः । मूल्य पनि नर्सरीभन्दा अलि बढी जस्तो लाग्यो ।’
भृकुटीमण्डप प्रदर्शनी हलमा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत १ देखि ४ गतेसम्म मेला लाग्नेछ । आयोजकका अनुसार मेलामा ८२ वटा प्रदर्शनी कक्ष राखिएका छन् । मेलामा विभिन्न प्रजातिका फूल, मल, गमलालगायत पुष्प सामग्री रहेका छन् । मेला संयोजक रामबहादुर तामाङले मेलामा करिब ६० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको बताए । रासस