संसदबाट राजावादीलाई प्रचण्डको सुझाव : लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया र गणतन्त्रको उदारता र मौलिकतालाई मजबुरी नठान्न पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुलाई चेतावनी दिएका छन् ।
आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संसारका विभिन्न देशहरुमा तानाशाही राजाहरुको अन्त्य कसरी भएको छ भन्ने बिर्सिएर नेपालको शान्ति प्रक्रिया र गणतन्त्रको मौलिकतालाई कम नआँक्न चेतावनी दिएका हुन् । उनले लोकतन्त्रको इतिहास पढ्न सुझाव दिए ।
‘इतिहास फेरि निर्मम हुन्छ, गणतन्त्रका लागि जनताको रगत बगेको छ । क्रान्तिको इतिहास पढ्नुस्,’ प्रचण्डले भने, ‘लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्तैन । मेरो विचारमा राजतन्त्रप्रति मेरा असहमति छन् ।’ उनले संसद्मा रहेका राजावादी दल राप्रपा लगायतलाई संकेत गर्दै भने– इतिहासको चक्का पछितिर फर्काउन चाहनेलाई चुनौती दिन चाहन्छु।’ अध्यक्ष प्रचण्डले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई आग्रह गरेका छन् ।
‘राजावादीहरूलाई मेरो आग्रह छ– लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्,’ मंगलबार संसद्मा विशेष समय लिएर बोल्दै प्रचण्डले भने । लोकतन्त्र जति प्रचण्डको हो त्यति नै ज्ञानेन्द्र शाहको पनि भएको र यही भाव संविधानमा रहेको उनले बताए । उनले भने, ‘नेपालको शान्ति प्रक्रिया मात्रै होइन, गणतन्त्रको इतिहास पनि निकै मौलिक र उदार रहेको छ ।संसारभरीको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले लेखिएको थुप्रै इतिहास भेटिन्छ । तर, नेपाल त्यसको अपवाद बन्यो । हामी सबैलाई राम्रोसँग जानकारी छ, त्यो हाम्रो मौलिकता र उदारताको प्रमाण थियो । पूर्व शाही परिवारमाथि हिंसाको कुरा त परको कुरा, निर्वासन समेत नतोकी तत्कालका लागि बस्ने ठाउँ समेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको हो भन्ने कुरा हामी कसैले बिर्सन हुँदैन । यो इतिहास क्रान्तिको मजबुरी थियो भन्ने भ्रम कसैलाई लागेको छ भने त्यो निकै ठूलो भ्रम मात्रै हुने छ । उदारतालाई कमजोरी ठानियो भने यो निकै निर्मम भएर प्रस्तुत हुनसक्छ भन्ने कुरा सबैले बुझ्न आवश्यक छ ।’
प्रचण्डले पूर्वराजालाई सुरक्षित रुपमा देशमै राख्ने व्यवस्था गरेर गणतन्त्र ल्याएको बताउँदै लामो संघर्षबाट प्राप्त उपलब्धीमाथि प्रतिगमन र प्रतिक्रान्तिको तरवार चलाउने सपना देखिएको बताए । प्रचण्डले भने, ‘सारा उपलब्धीलाई उल्टाउने कोशिस हुँदैछ । अब हामीले एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्कातिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट अवस्था सिर्जना भएको छ । सरकारको अविवेक र खराब क्रियाकलापले व्यवस्थाप्रति नै मोहभंग भइरहेको छ । ८ महिना अघिसम्म यस्तो ठूलो असन्तोष थिएन । माइतीघर मण्डला पनि लगभग खाली हुँदै थियो । अहिले सबैतिर आन्दोलन छ ।’ प्रचण्डले सरकारको कामका कारण व्यवस्थाप्रति नै निराशा छाएको उल्लेख गर्दै उनले गणतन्त्रमा फोहोर फालिएको टिप्पणी गरेका छन् ।