गोकर्णेश्वरमा महिलाको हत्या गरी बोरामा ‘प्याक’ गरेर बागमतीमा फालियो शव

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरी शव बागमती नदीमा फालिएको भेटिएको छ । महिलाको हत्या आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
शनिबार बिहान करिब ११ः५० बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिक बागमती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा एक महिलाको शव भेटिएको थियो । अन्दाजी वर्ष ३०÷३५ की महिला मृत फेला परेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली पुगेर शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा ती महिलाको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको हत्यामा संलग्न रहेको आरोपमा एक नाबालकसिहत पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको बागमती ढुङ्गेखोला घर भई हाल काठमाडौं गोठाटार बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भई हाल गोठाटार कृष्ण मन्दिर बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मग्याङ– ४ देउराली घर भई हाल गोठाटार कृष्ण मन्दिर बस्ने २४ वर्षीय रोशन तामाङ र सिन्धुपाल्चोकको तिपिने घर भई हाल गोकर्णेश्वर बस्ने २० वर्षकी पूजा परियार छन् । अर्का एक जना भने नाबालक छन् ।
काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाडौंले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर घटनाबारे अनुसन्धान अघि बढाएको थियो । सो क्रममा ती महिलाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । उनीहरुबाट हत्या गरिएकी महिलाको सनाखत भने हुन सकेको छैन ।