पूर्व राजाप्रति प्रधानमन्त्री : म आउँछु, देश बचाउँछु रे ! के भा’को छ र देश बचाउन ?


०४:०१ बजे

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो सम्बोधनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  आज (आइतबार) सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराजाको फागुन ६ गते सार्वजनिक अभिव्यक्तिबाट आफू छक्क परेको बताएका छन् । ‘संविधान र कानुन नमान्ने प्रवृत्ति बढ्दै गएको छ । म पूर्वराजाको सम्बोधन सुनेर छक्क परें,’ ओलीले भने, ‘म आउँछु, देश बचाउँछु रे ! देश के भा’को छ र बचाउन ? उहाँहरूले यस्ता अस्थिर गतिविधि गरेर देशलाई अप्ठ्यारोमा पार्दै हुनुहन्छ ।’

प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुनै कुर्सीमा लगेर राख्दैमा शासक हुन्छ भनी प्रश्न गरेका छन् । उनले राजावादीको आजको प्रदर्शनबारे त्यस्तो प्रश्न गरेका हुन् । ‘आज पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने के भन्या त्यो ? कुनै कुर्सीमा लगेर राख्दा शासक हुन्छ मान्छे ? मानिदिन परेन ?’, उनले सोधे । ओलीले आफू कुर्सीमा बसे राष्ट्रपति ‘रामचन्द्र पौडेललाई के गर्नुहुन्छ’ भन्दै पूर्वराजा शाहलाई सोधेका छन् ।

‘अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गर्नु हुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि ? यो देशमा त राष्ट्रपति छ । चुनेको राष्ट्रपति के गर्नु हुन्छ ?’, ओलीको प्रश्न छ ।  उनले प्रतिनिधिसभाले बहुमतले छानेका प्रधानमन्त्रीबारे जानकारी छैन भनी सोधे । ‘म अत्यधिक बहुमतले छानेको प्रधानमन्त्री छु । मैले बनाएको दुई दलको सहमतिको मजबुत सरकार छ । यो केही थाहा पाउनुहुन्न कि क्या हो उहाँहरू ? हामी कुनै बलमिच्याइँका कुरा गर्दैनौँ । विधिका कुरा गर्छौं’, उनले भने ।

‘सरकार संविधानअनुसार चल्नु पर्छ भन्ने सिकाउनुको सट्टा उहाँले मलाई साथ देऊ भन्दै हुनुहुन्छ’ उनले भने, ‘राजनीतिमा आउन चाहनुहुन्छ भने स्वागत छ, मलाई साथ दिनु रे ! के कुरामा साथ चाहिएको हो ?’ त्यसक्रममा प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको स्वीकार गर्दै एक–दुई वर्षभित्र सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले गेटा मेडिकल कलेजको शैक्षिक कार्यक्रम यसै वर्षदेखि सञ्चालन हुने र आगामी दिनमा मेडिकल विश्वविद्यालयको रूपमा विकास गरिने जानकारी दिए । सुदूरपश्चिमलाई विकसित प्रदेश बनाउने लक्ष्यसहित उद्यमशीलता प्रवद्र्धन गर्नुपर्ने उनले उल्लेख गरे । त्यसले रोजगारीका अवसर सिर्जना गर्ने उनको दाबी थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७