बद्रीनाथमा हिमपहिरो : फसेका ५७ मध्ये १० जनाको उद्धार


२०८१ फाल्गुण १६ शुक्रबार २१:४६ बजे

उत्तराखण्ड । भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परी सडक निर्माणमा संलग्न कम्तीमा ४७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेका छन् । हिमपहिरोमा फसेका कम्तीमा १० जनालाई उद्धार गरिएको छ । 

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भने, ‘सीमा सडक संगठन (बीआरओ) शिविरका निर्माण मजदुरहरू बद्रीनाथको माना गाउँ नजिकै काम गरिरहेका समय एक्कासी हिमपहिरो आउँदा केही व्यक्ति  हिउभित्र फसेका छन् । उद्धारका लागि सुरक्षकर्मी त्यसतर्फ गइसकेका छन् ।’ 

प्रहरी मुख्यालयका प्रवक्ता आईजी निलेश आनन्द भर्नेले यो समाचार तयार पार्दासम्म ५७ जना कामदारमध्ये १० जना कामदारको उद्धार गरिएको बताए । ‘मानाको सीमा क्षेत्रमा रहेको सीमा सडक सङ्गठनको शिविर नजिकै ठूलो हिमपहिरो खसेको छ जसमा सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका र तीमध्ये १० जना कामदारलाई उद्धार गरी गम्भीर अवस्थामा माना नजिकैको सेनाको क्याम्पमा पठाइएको छ,’ प्रहरी महानिरीक्षक निलेश आनन्द भर्नेले एएनआईसँग बताए । 

यसैबीच, बीआरओका कार्यकारी इञ्जिनियर सीआर मीनाले उद्धार कार्य जारी रहेको र भारी हिमपातका कारण टोलीलाई कठिनाइ भइरहेको बताए । उनले भने, ‘तीनदेखि चारवटा एम्बुलेन्स पनि पठाइएको छ, तर बाक्लो हिमपातका कारण उद्धार टोलीलाई त्यहाँ पुग्न समस्या भइरहेको छ,’ बीआरओका कार्यकारी इञ्जिनियरले भने । 

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भारत–तिब्बत सीमा प्रहरी र बीआरओले राहत र उद्धार कार्य जारी राखेको बताए । उनले भने, ‘चमोली जिल्लाको माना गाउँ नजिकै बीआरओले गरिरहेको निर्माण कार्यको क्रममा धेरै कामदारहरू हिमपहिरोमा फसेको दुःखद खबर प्राप्त भएको थियो । आईटीबीपी, बीआरओ र अन्य उद्धार टोलीहरूद्वारा राहत र उद्धार कार्यहरू भइरहेका छन् ।’ बिहीबार लाहौल र स्पीति प्रहरीले यस क्षेत्रका लागि हिमस्खलनको चेतावनी जारी गरेको थियो । –रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७