‘सत्ता साझेदारीमा कांग्रेस इमान्दार छ, प्रचण्ड जस्तो उफ्रेर अर्कोतिर जाँदैन’


२०८१ फाल्गुण १२ सोमबार १९:५३ बजे

प्युठान । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँगको सत्ता साझेदारीमा कांग्रेस इमान्दार रहेको दावी गरेका छन् । उनले ०८४ सालसम्म कांग्रेस–एमाले गठबन्धन कायम रहने समेत दाबी गरे। आज (सोमबार) प्युठानमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आगामी आमनिर्वाचनसम्म कांग्रेस र एमाले मिलेर जाने बताएका हुन् ।

३ वर्षमा परिणाम दिनेगरी एमालेसँग सत्ता साझेदारी गरिएको उनले बताए । ‘२०७९ सालको चुनावअघि हामीले ५ दलीय गठबन्धन बनाएका थियौं । सहमति तोडेर प्रचण्डले कांग्रेस छाडेर एमालेसँग मिल्न जानु भएको हो । हामी प्रचण्ड जस्तो होइन, एमालेसँग सरकारमा छौं, हामी इमान्दार भएर भूमिका निर्वाह गर्न चाहन्छौं’ थापाले भने, ‘कम्तीमा २०८४ सम्म सत्ता साझेदारी गर्नेमा कांग्रेसको इमान्दारी रहन्छ । कुनै चकचक र उपद्रो गरेर यताबाट उफ्रेर अर्कोतिर जाँदैनौं ।’

महामन्त्री थापाले एमालेसँग सत्ता साझेदारी गर्दा कांग्रेसका केही शर्त रहने बताए । ‘एमालेसँग मिलेर सरकार चलाउँदा हाम्रा केही शर्त छन्, कानूनको शासनमा हामी सम्झौता गर्दैनौं । जनताका अधिकारसँग सम्झौता गर्दैनौं, जुन कुराको लागि कांग्रेसको स्थापना भएको थियो ती कुरासँग सम्झौता हुँदैन’ उनले भने ।

महामन्त्री थापाले केन्द्रदेखि प्रदेशसम्म सहअस्तित्वको आधारमा एमालेसँग सहकार्य गर्ने बताए । ‘न हामी एमालेलाई हेप्छौं, न हेपिन्छौं, केन्द्रदेखि जिल्लामा त्यही व्यवहार चाहन्छौं । दुर्व्यवहार सहेर कांग्रेस बस्दैन । यी सर्तका आधारमा एमालेसँग मिलेर केही परिणाम दिन चाहन्छौं’, थापाले भने ।

बीपी कोइरालाले १८ महिनाको समयमा धेरै उल्लेखनीय काम गरेको स्मरण गर्दै थापाले आगामी ३६ महिनामा नतिजा दिनेगरी कांग्रेस–एमालेले काम गर्नुपर्ने बताए । ‘०८४ सालको चुनावमा जाँदा कांग्रेसले घोषणापत्र मात्र लिएर जान पाउँदैन, के काम गर्‍यौं भनेर रिपोर्ट कार्ड लिएर जानुपर्छ’, थापाले भने । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७