परराष्ट्रमन्त्री राणा र अजरबैजानका विदेश राज्यमन्त्रीबीच जेनेभामा भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहका उनीहरूबीच साइडलाइन भेटवार्ता भएको हो ।
भेटका अवसरमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री राणाले जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय २९ औं सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा अजरबैजानलाई बधाई ज्ञापन गरेकी थिइन् ।
नेपाल र अजरबैजान नाम र जी ७७ संगठनका सदस्यका रूपमा विकासशील देशहरूका समस्याहरू साझा रूपमा अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएका मन्त्री राणाले बताएकी थिइन् । उनले जलवायु परिवर्तनका क्षेत्रमा अजरबैजानको प्रतिबद्धताको सराहना गर्दै आगामी दिनमा पनि दुवै देशले विकासशील देशहरूमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तर्राष्ट्रिय मञ्चमा साझा आवाज उठाउने बताइन् ।
उनले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य थिम बनाएर सगरमाथा संवाद कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरेकाले त्यसमा सहभागिताका लागि अजरबैजानलाई पनि आमन्त्रण गरिन् ।