१२ वर्षीया बालिका बलात्कृत भई गर्भवती भएको विषय उठ्यो संसदमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले अछामकी १२ वर्षीया बालिकामाथि छिमेकीबाट बलात्कृत भएपछि गर्भवती भएको घटना संसदमा उठाएकी छन् ।
अछाममा १२ वर्षीय बालिकालाई अस्पतालमा उपचारका लागि लैजाँदा उनी गर्भवती रहेको र उनीमाथि बलात्कार भएको सार्वजनिक भएको थियो । आज (सोमबार) प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले ती बालिकाको भविष्यबारे चिन्ता व्यक्त गरेकी छन् ।
‘सरकारले कहिले ध्यान दिन्छ ? यस्ता खालका घटनाहरूलई रोक्न प्रहरी प्रशासनले अलि तदारूकताका साथ काम गर्नुपर्ने ठाउँमा त्यहाँ पनि भ्रष्टाचारको जालोबाट रूमलिएको छ । त्यहाँ पनि बालिकाहरूले न्याय पाउँदैनन् । मरेपछि पनि पाउँदैनन् जिउँदो हुँदा पनि पाउँदैनन्,’ उनले भनिन् ‘अब २५ हप्ताको गर्भवतीले गर्भपतन पनि गर्न मिल्दैन । बालिकाको भविष्य के होला ? मैले सदनलाई प्रश्न गर्न छोडें । म आफैंसँग प्रश्न गर्छु ती बालिकाको भविष्य के होला ?’ यस्ता घटनाहरू भइरहँदा सरकार मौन रहेको उनको गुनासो थियो ।