इन्स्पेक्टर महत मृत्यु प्रकरण : सिनियर इन्स्पेक्टर विवेकविरुद्ध जाहेरी

काठमाडौं । कास्कीमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मृत भेटिएको घटना सशस्त्र प्रहरीले छानबिन अगाडि बढाउने भएको छ । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महत ब्यारेकमै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उक्त घटना छानबिनका लागि डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
सन्तोषीका परिवारले भने आत्महत्या दुरुत्साहनको आरोपमा अर्का इन्स्पेक्टर विवेक जोशीविरुद्ध किटानी जाहेरी दिएका छन् । उनी महतभन्दा एक ब्याच सिनियर हुन् । उनीविरुद्ध कास्की प्रहरीमा जाहेरी परेको छ। इन्स्पेक्टर सन्तोषी कास्कीको पोखरास्थित सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिम गरिरहेकी थिइन् ।
सिन्धुपाल्चोक घर भएकी महत यसै वर्ष निरीक्षकमा भर्ना भएर आधारभूत तालिम गरिरहेकी थिइन् । सन्तोषी जवानमा भर्ना भएर ९ वर्षदेखि सशस्त्रमै कार्यरत थिइन् । जवानमै हुँदा २०७८ सालमा असई बनेकी उनले २०८१ मा निरीक्षकमा नाम निकालेकी थिइन् । तर, तालिम सकेर काममा फर्किन नपाउँदै मृत फेला परेकी हुन्।
सिन्धुपाल्चोकबाट इन्स्पेक्टरमा नाम निकाल्ने पहिलो महिला बनेकी भन्दै परिवारमा खुसी छाएको थियो । बुबा आमालाई अब नपुग्दो केही थिएन ।बाबु रोगिन्द्र महतले छोरी सन्तोषीले तालिम सफलतापूर्वक सम्पन्न गरेर इन्स्पेक्टरको फुली लगाएको हेर्ने धोको अधुरो भएको छ । उनले इन्स्पेक्टरको फुली लगाएको हेर्ने बुबा नगेन्द्र र आमा कमलाको सपना अधुरो मात्र भएको छैन, जिन्दगीभरलाई नविर्सिने चोट लागेको छ ।