पहिरोले भोटखोला सडक अवरुद्ध

संखुवासभा । कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डको भोटखोलामा पहिरो खस्दा सोमबार बिहानदेखि सडक अवरुद्ध भएको छ ।
आज बिहान भोटखोलाको हटिया र हुङ्गगुङ्ग बीचको धिग डाँडा खण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले बताए । उनका अनुसार १५ मिटर माथिबाट ठूल्ठूला ढुंगा खसेर सडक अवरुद्ध भएको छ ।खाँदबारीबाट १०९ किलोमिटरको दूरीमा पहिरो खसेको हो ।
पहिरो खसेपछि भोटखोलाबाट खाँदबारी आउने यातायातका साधन वारपार हुन सकेका छैनन् । खाँदबारीबाट गएका सवारीसाधन पनि बाटैमा अलपत्र परेको छन् । पहिरो हटाउन उत्तर दक्षिण कोशी सडक योजनासँग अध्यक्ष भोटेले माग गरेका छन् । पहिरोले करिब ३० मिटर सडक पुरिएको छ ।