‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ डा.ओम मूर्तिदेखि सावित्रासम्मलाई


२०८१ फाल्गुण ७ बुधबार १०:०७ बजे

काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो । टेलिमेडिसिन क्षेत्रतर्फ डा.छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा.विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) पुरस्कृत हुने भएका हुन् ।

यस्तै चिकित्सा क्षेत्रतर्फ डा.ओम मूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत हुने भएका छन् ।

पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ । नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका समय कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट एक करोड रुपैयाँ थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना भएको थियो ।

उक्त कोषबाट प्रत्येक वर्ष दुई जना प्रतिभालाई जनही रु पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो । २०७६ सालमा पहिलो पटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएको थियो । त्यसपश्चात् कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७