सुमना र सोविताले बोल्न नपाएकोबारे सभामुखको प्रष्टीकरण : गलत प्रचारबाजी गरियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय सोविता गौतम र सुमना श्रेष्ठलाई संसदमा बोल्न नदिइएको विषयमा सभामुख देवराज घिमिरेको सचिवालयले स्पष्टीकरण दिएको छ । सोविताले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय मागेकी थिइन् । सभामुखले विधेयक पारित भइसकेका आकस्मिक विषय हुन नसक्ने बताएका थिए ।
विधेयक पारित गर्नुअघि नै सभामुखले कानूनमन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहिँ भएको सहमति अनुसार नै विधेयक अगाडि बढाएको भने पनि उनले प्रोसेस बिग्रिएको भन्दै बोल्न माग गरेकी थिइन् । तर, सोविताले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरु नै विषय भए राख्न सकिने सभामुख घिमिरेले भनेका थिए ।
फागुन ५ गतेको बैठक सुरुवातको जनाउ घण्टी बस्न सुरु भएपछि सुमना भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय माग्न आइन् । सभामुख आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरेलगत्तै सुमना आइन् । ‘जनाउ घण्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ । तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो । उठाउने विषय हो भने (माननीय अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ । उहाँले समय लिइसक्नुभएको छ । मैले तपाईंको विषय बुझ्न समय भएन । या त भोलि राख्नुहोला भनेर निस्कनु भयो’ सभामुखको सचिवालयले भनेको छ ।
सभामुखले त्यस जानकारी दिदाँ रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि सँगै थिए र दलीय अनुरोध पनि आएको अवस्था थिएन । ‘आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिन्थ्यो । त्यो पनि अभ्यास छ । तर, संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको छ । सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानून, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई नै हेर्ने हो’ सभामुखको सचिवालयले भनेको छ।
सभामुखसँग आकस्मिक समय माग्न बैठक सुरु हुनु आधा घण्टा अगाडि एभरेजमा २० देखि ३० जना सांसद सभामुखको च्याम्बरमा हुन्छन् । तीमध्ये सबैले समय पाउँदैनन् । समय पाउने ८ देखि १० जनाले हो । आकस्मिक समयमा नियमावलीले नै व्यवस्था गरेको भन्दा फरक विषय उठ्ने गरेको भन्दै कार्यव्यवस्थामै पटक पटक आवाज उठ्ने गरेको छ । हिजोको संसद् बैठकमा सभामुखले बोल्न नदिएको भन्दै सांसद श्रेष्ठ बैठकस्थल छाडेर हिँडेको र बाहिर मिडियामा टिप्पणी गरेपछि सभामुखको सचिवालयले यो स्पष्टीकरण दिएको हो ।