सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छ : प्रचण्ड


२०८१ फाल्गुण ३ शनिबार १०:१३ बजे
फाइल फोटो

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन् । मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘जबसम्म देशबाट भ्रष्टाचारको अन्त्य गरिँदैन र सामाजिक न्याय स्थापित गरिँदैन, त्यतिबेलासम्म राष्ट्रिय एकता कायम हुन सक्दैन र देश अघि बढ्न सक्दैन भन्नेमा देशव्यापी जनमत बलियो बन्दै गएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘मैले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको छु । हाम्रो अभियान सफल बन्दै गएको छ।’

भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, राष्ट्रिय स्वाधीनताको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक समृद्धिको पक्षमा देशैभरि देखिएको चेतनाको लहर नयाँ आशाको किरण भएको पनि उनले स्पष्ट गरे । उनले भने ‘यो सचेतना निकै महत्वपूर्ण छ । हामी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्ने छौँ । यसमा सबै लामबद्ध हुन पनि आह्वान गर्न चाहन्छु ।’

नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापीरुपमा स्थापित गर्न खेलकुदको विकास महत्वपूर्ण भएको उल्लेख गर्दै उनले स्थानीय सरकारले यसमा ध्यान दिनु थप महत्वपूर्ण भएको बताए । आफू प्रधानमन्त्री भएको बेलामा खेल पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि धेरै कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले खेलका कारण देशको प्रतिष्ठा उचो बन्दै गएको बताए । बागमती गाउँपालिकाले खेल पूर्वाधारलाई महत्व दिएर रंगशाला निर्माण गर्नुका साथै राष्ट्रिय खेलकुद आयोजना गरेकोमा उनले धन्यवाद पनि दिए ।

यसअघि अध्यक्ष प्रचण्डले पार्टीको बागमती गाउँपालिकामा कार्यलयमा स्थानीय नेता कार्यकर्तासँग भेटघाट गर्दै देशव्यापी रुपमा पार्टीप्रति आकर्षणको लहर सुरु भएकाले यसलाई संस्थागत गर्दै अघि बढाउन आग्रह गरे । जे भन्छ, त्यो गर्ने माओवादी नै रहेछ भन्ने जनतामा विश्वास बढ्दै गएको उल्लेख गर्दै उनले जनताको आशा र विश्वासमा कमी आउन नदिने गरी योजना र कार्यक्रम अघि बढाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । पार्टीका लागि आएको यो महत्वपूर्ण अवसर भएकाले अब पार्टीका लागि दायाँबायाँ गर्ने छुट नभएको उनले स्पष्ट गरे ।

जितेका पालिका र वडामा मत बढाउने तथा नजितेकामा जीत हात पार्ने गरी अघि बढ्न निर्देशन गरे । माओवादीले नेतृत्व गरेका पालिकाहरुले उत्कृष्ट स्थान हासिल गर्दै गएको उल्लेख गर्दै उनले पार्टीले नेतृत्व गरेका सबै पालिकालाई नमूना बनाउने गरी पार्टीले केन्द्रले योजना अघि सारेको बताए । त्यस्तै, अध्यक्ष प्रचण्डले सहिद परिवारसँग पनि भेटघाट गरेका थिए । उनले आजै झापाको दमकमा हुने जनसभा तथा पार्टी प्रवेश र विराटनगरमा हुने पार्टीको प्रदेश बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७