बबरमहलमा फुटेको पाइप मर्मत सकियो, पानी पठाएर परीक्षण गरिंदै

काठमाडौं । काठमाडौं बबरमहलमा बुधबार दिउँसो विद्युत प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले बबरमहल क्षेत्रको चुहावट मर्मत भइसकेको जनाएको छ ।
केयुकेएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोककुमार पौडेलले बबरमहल क्षेत्रमा फुटेको पाइप फेरेर अहिले पानी परीक्षण भइरहेको र बिहीबार रातिदेखि नै पानी आपूर्ति हुने जानकारी दिएको छ । बुधबार दिउँसो साढे दुई बजे मेलम्ची खानेपानीको थोक वितरणतर्फको ५०० एमएमको पाइप फुट्दा बबरमहल क्षेत्रमा बाढी नै आएको थियो । व
न विभाग, जिल्ला र विशेष अदालत परिसर जलमग्न बनेको थियो । बबरमहल क्षेत्रका केही स्थानीयको घरसमेत डुबानमा परेका थिए । काठमाडौं जिल्ला अदालतको सुनुवाइ नै प्रभावित भएको थियो । केयुकेएलका सीइओ पौडेलले क्षतिको आंकलन भई नसकेको बताए । ‘काठमाडौंको मुख्य स्थानको खानेपानी वितरण र सडकको आवागमन नै प्रभावित भएपछि हाम्रा संरचनाको मर्मतमै ध्यान केन्द्रित गर्यौं । २४ घण्टाभित्रैमा मर्मत गरेर पानी परीक्षण गरिरहेका छौं,’ उनले भने ।
केयुकेएलले विद्युत प्राधिकरणको लापरवाहीका कारण बबरमहल क्षेत्रमा थोक वितरणतर्फको पाइपमा प्वाल परेको बताएको छ । प्राधिकरणले त्यहाँ तार भूमिगत गर्न ड्रिल (सडक प्वाल पारेर तार बिछ्याउने) काम गरिरहेको छ । काठमाडौं महानगरले पनि फुटपाथ बनाइरहेको छ । दुवै निकायले सडक विभागसँग अनुमति लिएर काम थालेका थिए। सडक ड्रिल गर्दा पाइप फुटेकाले अचानक खोला बगेको केयुकेएलले बताएको छ ।