पाथीभरा केवलकार निर्माण विवाद : गृहमन्त्रीसँगको वार्तामा के भयो ?


२०८१ माघ २८ सोमबार १०:०५ बजे

काठमाडौं । पाथीभरामा निर्माण हुने केवलकार विवाद समाधानका लागि भएको गृहमन्त्री रमेश लेखक र आन्दोलनरत ‘नो केबलकार’ समूहको वार्ता सकारात्मक भएको छ । वार्तामा सहभागी सांसद उर्मिला थेबेका अनुसार वार्ता सकारात्मक भएको, तत्कालका लागि आन्दोलन रोक्ने, निरन्तर वार्ता जारी राख्ने सहमति भएको छ ।

आन्दोलनकारीले थप विरोधका कार्यक्रम स्थगित गर्ने र वार्तालाई निरन्तरता दिइ बीचमा रहेर सम्झौता गर्ने सहमति भएको छ । निर्माणाधीन केबलकार विरोधी मुक्कुमलुङ संघर्ष समितिका तर्फबाट प्रतिनिधिले गृहमन्त्री रमेश लेखकलाई भेट्दै सुरुमा सहसचिवभन्दा माथिल्लोस्तरको वार्ता समिति गठन गर्न माग गरेका छन् ।

गृह मन्त्रालय पुगेका उनीहरूले गृहमन्त्री लेखकले नै वार्ता समितिको नेतृत्व गर्दा सही सन्देश जाने बताएका हुन् । आदिवासी जनजाति महासंघ अध्यक्ष ग्याल्जेन लामा शेर्पा, जनजाति नेता आङकाजी शेर्पा लगायतले गृहमन्त्री भेट्दै यस्तो भनेका हुन् । गृहमन्त्री लेखकले भने अहिले सहसचिव स्तरमा गठित समिति नै अधिकारसम्पन्न समिति भएकाले त्यसैसँग वार्ता गर्नु समाधानमुखी हुने बताएका छन् ।

‘वार्ता सकारात्मक भयो । गृहमन्त्रीजीले आन्दोलनकारीले पनि अडान छाड्नु पर्ने र वार्तामार्फत सहमति गर्नुपर्ने बताउनु भयो । भोलि थप वार्ताका लागि समय मिलाउने भन्नु भएको छ’, उनले भनिन्, ‘सधैं आन्दोलन भनेर हुँदैन । उहाँहरुले पनि बुझ्नु पर्‍यो । बुझ्नु भएको छ ।’

ताप्लेजुङ्ग जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद सम्बन्धमा छलफलका लागि जारी छलफलमा गृहमन्त्री लेखकसहित नेकपा एमालेका सचिव योगेश भट्टराई, गृह प्रवक्ता रामचन्द्र तिवारी रहेका छन्। त्यस्तै, आन्दोलनरत पक्षबाट आङकाजी शेर्पा, रमेश राईलगायत करिब १० जनाको उपस्थितिमा वार्ता भएको जनाइएको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७