पाथीभरा केबुलकार निर्माण विवाद : अरुण पूर्वका नौं जिल्ला बन्द
काठमाडौं । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा गर्दै आएको समूहले आज (आइतबार) अरुण पूर्वका नौं जिल्ला बन्द आहवान गरेको छ । मेची राजमार्ग र तमोर कोरिडोर अवरोध गर्दै आएको आन्दोलनरत समूहले माघ २० र २१ गते दुई दिन अरुण पूर्वका नौं जिल्ला बन्द आह्वान गरेको हो ।
पाथीभरामा केबुलकार निर्माण रोक्नुपर्ने मागसहित आन्दोलनरत संघसस्था र समूहले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको हो । आन्दोलनकारीले सडक ठप्प पारेका छन् भने बजारमा समेत बन्दको प्रभाव देखिएको छ । माघ १० गते आन्दोलनरत समूहलाई सशस्त्र प्रहरीले गोली चलाएको विरोधमा माघ १४ गतेदेखि मेची राजमार्ग र तमोर करिडोरमा यातायात अवरुद्व गर्दै आएका आन्दोलनरत समूहले आइतबार अरुण पूर्वका ९ जिल्ला बन्दको आह्वान गरेका हुन् ।
बन्दका कारण ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी र धनकुटा लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । यस क्षेत्रका मुख्य राजमार्गसँगै सहायक र भित्री सडकमा समेत बिहानैदेखि गाडी गुडेका छैनन् । पहाडी जिल्लामा बिहानैदेखि यातायात र ढुवानीका साधन ठप्प छन् भने झापाको विर्तामोड र सुनसरीको इटहरी लगायतका ठूला बजारमा आन्दोलनकारीले झण्डासहित सडकमा निस्केर बन्द गराइरहेका छन् ।
बन्द गराउने क्रममा प्रहरीले झापाको दमकबाट पदम बेघा, धनकुमार योङहाङ र शुक्र लिम्बूलाई आज बिहानै पक्राउ गरेको छ । संघर्ष समितिका आन्दोलनकारीहरु सडकमा निस्किएर केवलकार चाहिँदैन, मुकुलुङको संरक्षण गर, सरकारी दमन अन्य गर लगाएतका नारा लगाइरहेका छन् ।
केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त संघर्ष समिति, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति लगायत संघसंस्था आन्देलनमा उत्रिएका हुन् ।