गोर्खाज फाइनान्सका ९९ प्रतिशत संस्थापक शेयरधनी अध्यक्ष बुढाथोकीविरुद्ध, साधारणसभा छोडेर ‘फरार’


२०८१ माघ २ बुधबार २०:३१ बजे

काठमाडौं । गोर्खाली समुदायको लगानीमा रहेका गोर्खाज फाइनान्स लिमिटेडका ९९ प्रतिशत संस्थापक शेयरधनी गोर्खाज फाइनान्स लिमिटेडका अध्यक्ष गौरव बुढाथोकी विरुद्धमा उभिएका छन् । अध्यक्ष बुढाथोकीले गोर्खाज फाइनान्स लिमिटेडलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन विपरित काम गरेर आफूहरुको करोडौंको लगानी डुबाउन खोजेको भन्दै संस्थापक शेयरधनीहरु अध्यक्ष बुढाथोकीविरुद्ध उभिएका हुन् ।

गोर्खाज फाइनान्स लिमिटेडको ३० औं साधारणसभा गत २९ पुस २०८१ मा अध्यक्ष बुढाथोकीले बोलाएका थिए । तर अध्यक्ष बुढाथोकीले गोर्खाज फाइनान्स लिमिटेडलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन विपरित चलाएको भन्दै बिरोधको तयारी गरेपछि साधारणसभा छोडेर भागेका छन् । शेयरधनी तथा गोर्खा समुदायका अगुवा पुञ्जन मुकारुङ राईका अनुसार २९ पुस २०८१ मा गोर्खाज फाइनान्स लिमिटेडको ३० औं साधारणसभा बोलाइएको थियो । काठमाडौं बसुन्धाराको एक पार्टी प्यालेसमा १० बजे बोलाइएको साधारणसभामा अध्यक्ष बुढाथोकी, निर्देशक नगेन्द्रकुमार अग्रवाल र निलम बोहोरा ११ बजेतिर आएका थिए । तर साधारणसभामा उपस्थित सत प्रतिशत सेयर धनी उनीहरु बिरुद्ध उभिने सूचना पाएपछि हल छोेडेर भागेका थिए ।

अध्यक्ष बुढाथोकी १२ बजे आउने भनिए पनि एकाएक कम्पनी सचिव दिपक न्यौपानेले साधारणसभा गणपुरक नपुगेको भन्दै स्थगित गरेको सूचना टाँस गरेका थिए । सूचनामा गणपुरक नपुगेको भनेर सूचना टास गरे पनि अध्यक्ष संस्थापक शेयरधनी शतप्रतिसत र ८० प्रतिशत भन्दा शेयरधनीहरु उपस्थित थिए । अध्यक्ष बुढाथोेकीले गरिरहेको वित्तीय संस्था सम्बन्धी ऐन विपरित काम विरुद्ध आक्रमक रुपमा उभिने तयारी गरेपछि अध्यक्ष फरार भएको संस्थापक शेयरधनी टंकबहादुर लिम्बुको भनाई छ । ‘यो संस्थामा हाम्रो रगत र पसिनाको कमाई राखेका छौं । तर उनले वित्तीय संस्था सम्बन्धी ऐन विपरित डुबाउने प्रयास गरिरहेका छन् । त्यो बिरुद्धमा उभिने थाहा पाएपछि उनी फरार भएका छन्,’ उनले भने, ‘अनेकौं शक्तिको आडमा उनले सोझा लाहुरेहरुको आडमा संस्थाको दुरुपयोग गर्न खोजेका छन् । त्यो गर्न हामी दिन्नौं ।’

गोर्खाज फाइनान्स लिमिटेडका ७४६ जना संस्थापक शेयरधनीहरु छन् । तीमध्ये ७३७ जना संस्थापक शेयरधनीहरुले विहिबार (२ माघ २०८१) मा विज्ञप्ति जारी गरेर अध्यक्ष बुढाथोकी, सञ्चालक समितिका निर्देशक (पब्लिक) नगेन्द्रकुमार अग्रवाल, निर्देशक (पब्लिक) निलम बोहोरामाथि कारबाहीको माग गरेका छन् । पाँचमध्ये दुई निर्देशक कल्पना खापुङ र युवराज राई भने साधारणसभामा उपस्थित भएका थिए । अध्यक्ष बोहोरासहित निर्देशकद्धय अग्रवाल र बोहोराले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन विपरित काम गरेको भन्दै कारबाहीको माग गरेका छन् ।

चुक्ता पुँजी ८६ करोड रहेको गोर्खाज फाइनान्स लिमिटेडमा गोर्खालीहरुको लगानी रहेको छ । यसैगरी झण्डै ६ अर्व निक्षेप समेत गोर्खाली समुदायको रहेको छ । गोर्खाज फाइनान्स लिमिटेड अध्यक्ष गौरव बुढाथोकी शेयर संख्या जम्मा १९९ कित्ता सञ्चालकद्घय नरेन्द्रकुमार अग्रवालको १४० कित्ता तथा निलम बोहराको १२२ कित्ता रहेको छ । उनीहरु सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु हुन् ।

सिइओ नियुक्तिमा आर्थिक चलखेलको दाबीसहित उजुरी
अध्यक्ष बुढाथोकीले वित्तिय नियम विपरित काम लगाउन दबाब दिएपछि गोर्खाज फाइनान्स लिमिटेडका तत्कालीन सिइओले सन्तोषकुमार घिमिरेले २३ असोज २०८१ मा राजीनामा दिएका थिए । घिमिरेका राजीनामापछि गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालक समितिले नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढेको थियो ।

प्रक्रियामा विवाद भएपछि राष्ट्र बैंकमा उजुरी परेको थियो । उजुरीपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन अनुसार गर्न निर्देशन समेत दिएको थियो । तर राष्ट्र बैंकको समेत निर्देशन वेवास्ता गर्दै अध्यक्ष बुढाथोकीले प्रकाशचन्द्र अधिकारीलाई नयाँ सिइओ नियुक्तिको एकतर्फी घोषणा गरेका थिए । अध्यक्ष बुढाथोकीले सुरुमा सिईओ सन्तोषकुमार घिमिरेलाई प्रभावित पारेर मनपरी गर्न खोजेका थिए । तर सिईओ घिमिरले उनको मनपरीमा साथ नदिएपछि घिमिरेबिरुद्ध नै उत्रिए ।

अध्यक्ष बुढाथोकीकै दबाबमा सिइओ घिमिरेले राजीनामा दिएका छन् । अध्यक्ष बुढाथोकीले १४ पुस २०८१ मा सञ्चालक समितिको बैठक भन्दै एकतर्फी रुपमा प्रकाशचन्द्र अधिकारीलाई सिइओ नियुक्तिको घोषणा गरेका थिए । तर बैठकमा सञ्चालक समितिका निर्देशक (प्रमोटर) युवराज राई र निर्देशक (प्रमोटर) कल्पना खापुङले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । अर्का पब्लिक तर्फका निर्देशकद्धय नगेन्द्रकुमार अग्रवाल र निलम बोहोरा अनुपस्थित थिए । स्रोतका अनुसार अध्यक्ष बुढाथोकीले बैठकमा उनीहरुको पनि उपस्थिति देखाएर कीर्ते गरेका थिए । विराटनगरमा रहेका अग्रवाल र बोहोरालाई पछि दबाबामा परेर कुरियर्समार्फत माइन्युट पठाएर हस्ताक्षर गर्न लगाएका थिए ।

गौरव बुढाथोकी कुनै बेला हेटौंडातिरका बदनाम पात्र थिए । नेपाली कांग्रेसका सभापति इन्द्र बानियाँको व्यवसायमा एकाउन्टेन्टको जिम्मेवारीमा रहेका बुढाथोकीले बानियाँको नाममा असुली र अनियमितता मच्चाएपछि उनी निकालिएका थिए । उनै बानियाँ अहिले गोर्खा सैनिकहरुको लगानीमा रहेको गोर्खाज फाइनान्सको हर्ताकर्ता बनेका छन् । १० हजार लगानी गरेर पब्लिकमार्फत् गोर्खाज फाइनान्सको अध्यक्ष बनेका बुढाथोकीले नयाँ सिइओ प्रकाशचन्द्र अधिकारसँग आर्थिक लेनदेन गरेर सिइओ बनाएको भन्दै राष्ट्र बैंकमा उजुरी समेत परेको छ ।

संस्थापक शेयरधनीका प्रबिन गुरुङका अनुसार साधारणसभा फेस नगरेर अध्यक्ष बुढाथोकी फरार भएका छन् ।लाहुरेहरुको करोडौंको लगानी डुबाउन प्रयास भइरहेको उनको भनाई छ । स्रोतका अनुसार ७४७ संस्थापक शेयरधनीमध्ये ७३७ संस्थापक शेयरधनी भूतपूर्व गोर्खा सैनिक हुन् । उनीहरुले बुढाथोकीलाई कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७