बृहत्तर जनकपुरका तत्कालीन कार्यकारी निर्देशक ठाकुर पक्राउ
जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर पक्राउ परेका छन् । ठाकुर ललितपुरको भैंसेपाटीबाट पक्राउ परेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले पुष्टि गरेका छन् । उनलाई ठगी र सरकारी छाप कीर्तेसम्बन्धी मुद्दामा पक्राउ गरिएको बताइएको छ ।
उनका अनुसार ठाकुरलाई धनुषा ल्याउने प्रक्रिया अगाडि बढाइएको छ । ठगी र सरकारी छाप कीर्तेसम्बन्धी मुद्दा ठाकुरसहित परिषद्का लेखापाल सावित्री गिरी, प्रशासन प्रमुख जीतेन्द्र यादव र जिन्सी शाखा प्रमुख मदन चौधरीमाथि पनि छ । उनीहरु फरार रहेको प्रहरीले जनाएको छ ।
कार्यकायरी निर्देशक रहेका बेला ठाकुरले परिषद्बाट गाडी भाडाको नाममा ३० लाख बढी अनियमितता गरेको आरोप छ । परिषद्बाट महोत्तरीका मुकेश यादवलाई धनी कायम गरेर गाडी भाडामा लिएको भनी रकम निकासा गरेको पाइएको छ । मुकेशले नै उनीहरुमाथि प्रहरीमा उजुरी गरेका हुन् । ठाकुर कार्यकारी निर्देशक रहेका बेला परिषद्लाई एक व्यक्तिले दान दिएको बा १३ च २०३७ नम्बरको स्कार्पियो गाडी पत्नीको नाममा दर्ता गराएको पनि आरोप छ ।