‘ट्रम्पसँग वार्ताका लागि पुटिन तयार’


२०८१ पौष २६ शुक्रबार ०२:०२ बजे

काठमाडौं । क्रेमलिनले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन डोनाल्ड ट्रम्पसँग वार्ताका लागि तयार रहेको बताएको छ ।यो घोषणा आगामी अमेरिकी राष्ट्रपतिले दुई नेताबीच बैठक तय भइरहेको बताएपछि आएको हो। जनवरी २० मा पदवहाली गर्ने ट्रम्पले रुस र युक्रेनबीचको करिब तीन वर्षे युद्धलाई छिटै अन्त्य गर्नसक्ने बताएका छन् तर कुनै ठोस योजना प्रस्तुत गरेका छैनन् ।

‘राष्ट्रपतिले बारम्बार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत अन्तर्राष्ट्रिय नेताहरूसँग सम्पर्क गर्न खुला रहेको बताउनु भएको छ’, पुटिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरूलाई भने । ट्रम्पले बिहीबार पुटिनसँग बैठक तय भइरहेको बताएका थिए । ‘उहाँ भेट्न चाहनु हुन्छ, र हामी यसको व्यवस्था गरिरहेका छौँ’, फ्लोरिडाको पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रिपब्लिकन गभर्नरहरूसँगको बैठकमा ट्रम्पले भने, ‘राष्ट्रपति पुटिन भेट्न चाहनुहुन्छ, उहाँले त्यो सार्वजनिक रूपमा पनि भन्नुभएको छ र हामीले त्यो युद्ध समाप्त गर्नुपर्छ, त्यो एउटा रक्तपातपूर्ण अवस्था हो ।’

क्रेमलिनले ट्रम्पको ‘वार्ताको माध्यमबाट समस्या समाधान गर्ने तयारी’ लाई स्वागत गरेको पेसकोभले शुक्रबार बताए । उनले मस्कोसँग बैठक आयोजना गर्न कुनै पूर्वशर्त नरहेको बताए । ‘कुनै शर्त आवश्यक छैन। संवादमार्फत समस्या समाधान गर्न आपसी इच्छाशक्ति र राजनीतिक इच्छाशक्ति चाहिन्छ’, दैनिक पत्रकार सम्मेलनमा उनले भने । 

द्वन्द्वको द्रुत अन्त्यका लागि ट्रम्पको आशाले मस्कोका लागि अनुकूल सर्तहरूमा युक्रेन शान्ति सम्झौता स्वीकार गर्न बाध्य हुनसक्ने किएभमा चिन्ता बढाएको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले आफ्नो पूर्ण सैन्य आक्रमण सुरु गरेदेखि वासिङ्टनले युक्रेनलाई दशौँ अर्ब डलर सहयोग गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले त्यस्तो समर्थन बिना आफ्नो देशले युद्ध हार्ने थियो भनेका छन् ।

उनले ट्रम्पलाई आफ्नो ‘शक्तिमार्फत शान्ति’ प्रस्तावलाई समर्थन गर्न दबाब दिइरहेका छन् । यसमा लडाइँ अन्त्य गर्ने कुनै पनि समाधानको अंशका रूपमा नाटो सुरक्षा र ठोस पश्चिमी सुरक्षा ग्यारेन्टीको खोजी गरिएको छ । युक्रेनको विदेश मन्त्रालयले पुटिनसँगको कुनै पनि आगामी भेटबारे ट्रम्पको टिप्पणीलाई अस्वीकार गरेको छ ।

‘ट्रम्पले पहिले नै यस्तो बैठकको योजनाका बारेमा कुरा गरिसक्नुभएको छ, त्यसैले हामी यसमा नयाँ केही देख्दैनौँ’, प्रवक्ता जोर्जी टाइखीले भने, ‘हाम्रो स्थिति धेरै सरल छ : युक्रेनमा हामी सबै युक्रेनका लागि निष्पक्ष रूपमा युद्धको अन्त्य गर्न चाहन्छौँ र हामी देख्छौँ कि राष्ट्रपति ट्रम्प पनि युद्धको अन्त्य गर्न कटिबद्ध हुनुहुन्छ ।’ युक्रेनले पद वहालीपछि ट्रम्प र जेलेन्स्कीसहित ‘तुरुन्तै’ किएभ र वासिङ्टनबीच उच्चस्तरीय छलफलको तयारी गरिरहेको टाइखीले जानकारी दिए । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७