माओवादी सिध्याउने अन्तिम हतियार शान्ति प्रक्रियालाई ठानिँदै छ : प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले नै टुंग्याउन कठिन भएको टिप्प्णी गरेका छन् । आज (बुधबार) ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा उनले आफू शान्ति प्रक्रिया र १२ बुँदे सहमतिका आधारमा समझदारीबाटै टुंग्याउनु पर्ने पक्षमा रहेको बताए ।
‘टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही छैन’, उनले भने । उनले सत्तारुढ नेकपा एमालेप्रति लक्षित गर्दै माओवादी सिध्याएर मात्रै टुंग्याउने सोच र प्रवृत्ति रहेको टिप्प्णी गरे । ‘माओवादी सिध्याएर मात्रै के गर्नुपर्छ गरौंला भन्ने राजनीतिक सोच र प्रवृत्तिका मान्छे पनि छन् । यो कुरा आवेग पनि होइन, सेन्टिमेन्ट पनि होइन । राजनीतिक नेतृत्व र प्रवृत्ति त्यस्तो छ । टुंगिन लागेका बेला गएर रोक्छ’, प्रचण्डले भने ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ सदनबाट पारित भएपछि टुंगिने विश्वास गरिए पनि त्यसो हुन नसकेको उनको भनाइ छ । ‘माओवादी नेतृत्वलाई तह लगाउन, ठिक गर्न र सिध्याउने अन्तिम हतियार यही हो । टुंग्याउनु हुन्न भन्ने प्रवृत्ति छ’, उनले भने ।
पीडितले पनि सडकबाट राज्य र नेतृत्वलाई दबाब नदिए अर्को १८ वर्षमा पनि नटुंगिने खतरा रहेको उनले बताएका छन् । शान्तिपूर्ण ढंगबाट राजनीतिक नेतृत्वलाई दबाब दिए छिट्टै टुंगोमा पुग्ने उनको विश्वास छ । उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छिट्टै टुंग्याउन आग्रह गर्दै छलफल गर्ने पनि बताए । ‘अब रोक्न भएन, छिट्टै गर्नुपर्यो भनेर जाँदैछु’, उनले भने ।