हसिना र छोरा सजिवमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु


२०८१ पौष ७ आइतबार ००:३३ बजे

काठमाडौं । बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिना र उनका छोरा सजिब वाजेद जोयविरुद्ध अवैध रुपमा ३० करोड अमेरिकी डलर बेलायत र अमेरिका लगेको आरोपमा अनुसन्धान सुरु भएको छ । बंगलादेशको भ्रष्टाचार अनुसन्धान सम्बन्धी निकाय ‘एन्टि करप्सन कमिशन–एसीसी’ ले आमा–छोरामाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेको हो ।

उनीहरु दुवैमाथि अवैध रुपमा उक्त धनराशी न्यूयोर्क र लण्डन लगेको आरोपमा अनुसन्धान सुरु गरिएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् । यसअघि एसीसीले पूर्व प्रधानमन्त्री हसिना, उनका छोरा वाजेद जोय, हसिनाकी बहिनी शेख रेहना तथा छोरी तुलिप सिद्दीक विरुद्ध नौ वटा परियोजनामा ८० हजार करोड बंगलादेशी मुद्रा टाका भ्रष्टाचार गरेको अभियोगमा अनुसन्धान सुरु गरिसकेको छ । ४५ वर्षिय तुलिप सिद्दिक हाल बेलायत सरकारमा मन्त्री छन् ।

विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना अगष्ट ७ मा बंगलादेशबाट भागेर भारत पलायन भएकी थिइन् । हाल भारतमा रहेकी हसिनाविरुद्ध बंगलादेशको ‘इन्टरनेशनल क्रिमिनल ट्राइब्युनल –आइसीटी’ ले मानवता विरुद्धको अपराधमा संलग्न रहेको अभियोगमा पक्राउ पुर्जी जारी गरेको छ । जुलाइ र अगष्टमा भएको विद्यार्थी आन्दोलनमाथि हसिना सरकारले क्रुर दमन गरेको र त्यस क्रममा सयौं नागरिकको हत्या गरिएको आरोप छ ।

उक्त अभियोगमा हसिनाका अतिरिक्त तत्कालीन मन्त्रीहरु समेत गरी अन्य ४५ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीमा पनि हसिना र उनका ६९ सहयोगीमाथि मानवताविरुद्धको अपराध गरेको भन्दै फौजदारी मुद्दा दर्ता भएको छ । यसै वर्षको अक्टोबरमा दायर भएको उक्त मुद्दामा विद्यार्थी आन्दोलनका बेला हसिना र उनको मन्त्रिपरिषद्का सदस्य र अन्य नियामक निकायले गरेको दमन र हत्या जस्ता फौजदारी अपराधको स्वतन्त्र अनुसन्धानको माग गरिएको छ । एजेन्सी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७