एआइजी बोहरा र सिंहसहित सात जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्ह
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा दुई जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ पुस ५ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा ५ जना गरी पदोन्नति भएका सात प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरा तथा प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षकहरू डा. रामप्रसाद शर्मा, डा. नविन लागेजु, डा. समृद्धि कार्की, डा. अन्जली तण्डुकार र प्रदिन ताम्राकार रहेका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतहरूले प्रदर्शन गरेको व्यावसायिकता, इमानदारीता र लगनशीलतालाई कायम राख्दै प्राप्त सफलतालाई व्यक्तिगत उपलब्धिसँग मात्र जोडेर नहेरी सांगठनिक विकास र सुदृढिकरणमा समेत महत्वपूर्ण योगदान दिने अवसरका रूपमा मनन गरी पदको मर्यादा र गरिमाको बढोत्तरी हुने गरी आगामी दिनहरूमा अझ बढी सक्रिय हुनुपर्ने उनले बताए ।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले नेपाल प्रहरीको साख वृद्धिलाई प्राथमिकतामा राखी नागरिकप्रति उत्तरदायी र कानूनको शासनमा आधारित भएर सांगठनिक विकास र सुदृढिकरणको क्षेत्रमा अझ बढी जवाफदेहीताका साथ कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूलगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति थियो ।