वीपी राजमार्गको धुलिखेल–वर्षेखोला सडक राति बन्द (सूचनासहित)
काठमाडौं । वीपी राजमार्ग अन्तर्गत धुलिखेलदेखि वर्षे खोलासम्मको सडक रातिको समयमा बन्द गरिने भएको छ । सो खण्डमा मर्मत गर्नुपर्ने भएकाले हरेक दिन राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्न लागिएको हो । उक्त सडक आज बुधबार रातिदेखि नै बन्द हुने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
सडक अर्को सूचना जारी नभएसम्मका लागि राति सात घण्टा बन्द गरिनेछ । सडक डिभिजन कार्यालयका अनुसार चौकीडाँडा, नार्के बजार, कालढुङ्गा (भ्याकुरे खोला) हुँदै माम्तिखोला क्षेत्रसम्म डाइभर्सन मर्मत कार्य भइरहेको छ । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण उक्त सडकमा क्षति पुगेको थियो ।