रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न रास्वपाको माग, प्रदर्शन जारी राख्ने


२१:५४ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न पार्टीले माग गरेको छ । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै सभापति लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रयास भइरहेको रास्वपाले जनाएको छ ।

‘संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको छ । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै सभापति लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रयास भइरहेकाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार विज्ञप्तिमार्फत् बताएका छन् ।

सभापति लामिछानेको पक्राउविरुद्ध र सहकारीपीडितलाई न्यायको मागसहित कास्कीको पोखरामा मंगलबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग रास्वपाले आरोप लगाएको छ । ‘रत्न चोक हुँदै वाइचोकमा भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जसहित ६ सेल अश्रुग्याँस प्रहार गरेको थियो भने प्रदर्शनमा सहभागी १५ जनालाई गिरफ्तार गरियो,’ झाले बताएका छन्, ‘आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार राजकुमार माझी लगायतलाई प्रहरीद्वारा गरिएको हातपात र सञ्चार सामग्री तोडफोड समेत गरिएको कार्यको घोर विरोध गर्दछौं ।’ 

बुधबार पोखराको मानवअधिकार चोकलगायत देशका विभिन्न जिल्लामा विरोध कार्यक्रम यथावत रहेको रास्वपाले बताएको छ । सहकारी ठगी, संगठित अपराधको अभियोगमा रास्वपा सभापति लामिछाने कास्की प्रहरी हिरासतमा छन्। उनलाई कात्तिक २ गते पक्राउ गरिएको हो । मंगलबार समेत तीन पटक अदालतबाट म्याद थप गरी प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । 

कार्यवाहक प्रवक्ता झाले संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारेको दाबी गर्दै सरकारले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको उल्लेख गरेका छन् । यसैबीच उनले आज अपराह्न ४ बजे पोखरालगायत देशका विभिन्न जिल्लामा रास्वपाको विरोध कार्यक्रम जारी रहने जानकारी पनि दिएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७