जहाजबाट पोखरा जान मानेनन् रवि, गाडीबाटै लगिँदै


२०८१ कार्तिक २ शुक्रबार २२:०८ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने हवाइमार्गबाट जान नमानेपछि गाडीबाटै पोखरा लगिने भएको छ । शुक्रबार जिल्ला अदालत कास्कीको अनुमतिमा प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ गरेर स्थलमार्गबाटै आजै पोखरा लैजान लागेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई रास्वपाको पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो । लामिछानेले १८.४५ बजे पक्राउ पुर्जी बुझेर कागजमा हस्ताक्षर गरेका छन् । उनलाई अहिले स्थलमार्गबाट पोखरा लगिँदैछ ।

रविलाई पोखरा लैजानका लागि प्रहरीले बुद्ध एयरको टिकट बुक गरिसकेको थियो । रविलाई पोखरा लैजान ९ वटा टिकट बुक समेत भएको थियो । प्रहरीले सडकमार्गमा असुरक्षित हुने भन्दै रविलाई हवाइमार्फत जान आग्रह गरेको थियो । बेलुकी ८ः२५ बजेको बुद्ध एयरको जहाजमा ९ वटा टिकट बुक भएपनि अन्तिममा रविले नमानेपछि स्थलमार्गबाटै लैगिँदै गरेको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

रवि पक्राउ पर्दै गर्दा पार्टी कार्यालय, वनस्थलीमा उपस्थित समर्थकको भिडले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्लाप्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो । कास्की प्रहरीको पत्र आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।

प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसपछि जोशी गत असोज ६ गते नै पक्राउ परिसकेका छन् । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।

संसदीय समितिको प्रतिवेदनको परिच्छेद ८ मा सहकारी ठगी प्रकरण सहकारी ऐन २०७४, मुलुकी अपराध संहिताको कीर्तेसम्बन्धी दफा, संगठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ का कानुन आकर्षित हुने उल्लेख छ । पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो, कम्पनीमा अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक लामिछाने थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७