गोदावरी चापागाउँ क्षेत्रको खानेपानी छिटो चालु गर्न मन्त्री यादवको निर्देशन


२०८१ असोज २९ मंगलबार ०६:१७ बजे

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले गोदावरी नगरपालिकाअन्तर्गत चापागाउँस्थित बाढीले प्रभावित क्षेत्रमा खानेपानी सेवा तत्काल सुचारु गर्न निर्देशन दिएका छन् ।

आज (मंगलबार) ललितपुरको नल्लु, बासुकी र देवकी मुहान क्षेत्रमा बाढीका कारण भएको खानेपानी मुहानको क्षतिको जानकारी लिन पुगेका मन्त्री यादवले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) तथा खानेपानी तथा ढल व्यवस्थापन विभागका अधिकारीहरुलाई उक्त निर्देशन दिए । 

उनले बाढी पहिरोका कारण गोदावरी नगरपालिकास्थित चापागाउँ क्षेत्रमा अवरुद्ध भएको खानेपानी सेवा आपूर्ति तत्काल सुचारु गर्न कुनै ढिलाइ नगर्न समेत निर्देशन दिए । उनले भने, ‘खानेपानी नागरिकको आधारभूत अधिकार हो । संघीय सरकार, स्थानीय सरकार र प्राविधिक निकायबीच समन्वय गर्दै तीन दिनभित्र यहाँको खानेपानी पुनःस्थापना कार्य सुरु गर्नु होला ।’

मन्त्री यादवले सरकार स्थानीय बासिन्दाको समस्याप्रति संवेदनशील रहेको प्रस्ट पार्दै भने, ‘जनताको समस्या समाधान गर्नु हाम्रो प्राथमिकता हो । म व्यक्तिगतरूपमा यस कार्यको प्रगतिमा अनुगमन गर्नेछु र समस्या समाधान नगरी हिँड्दिनँ ।’ त्यस्तै पुनःस्थापनामा स्थानीय समुदायको सहभागिता र सहयोग सुनिश्चित गर्न उनले आग्रह गरे ।

‘तपाईंहरूको सहकार्य बिना पुनःस्थापनाको प्रयास सफल हुँदैन । म विश्वास दिलाउन चाहन्छु कि पानी सेवा छिट्टै पुनः सञ्चालनमा आउँछ । यस्ता विपद्हरूमा अझ तयारीका साथ सामना गर्न हामी सक्षम हुँदैछौं,’ उनले भने ।  गत असोज ११ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण क्षति पुर्‍याएको नल्लु, बासुकी र देवकी मुहान क्षेत्रको जानकारी लिएर फर्किएका थिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७