बाढी–पहिरो पीडितलाई सांसद साहले एक महिनाको तलब दिने
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले आफ्नो एक महिनाको तलब बाढी–पहिरो पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् । सांसदले पाउने एक महिना बराबरको तलब उनले बाढीपहिरो पीडितलाई दिने बताएका हुन् । उनले एक महिना बराबरको तलब सरकारी कोषमा जम्मा गर्ने जानकारी दिए ।
आजपाको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दैउनले देशैभरी बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको भन्दै सरकारले उद्धार, राहतलगायतका काममा देखाएको उदासीनताप्रति दुःख व्यक्त गरे ।
‘पूर्व सूचना हुँदाहुँदै पनि सरकारले सावधानी अपनाउन सके् । पीडितहरुको उद्धार त गर्न सकेन । समयमा खानबस्ने, स्वास्थ्यसहितको राहतमा पनि कुनै सुनुवाई गर्न सकेन’ आजपा अध्यक्ष साहले भने, ‘सरकार पूर्णरुपमा असफल मात्रै होइन, असक्षम सावित भईसकेको छ । देशभरीका सडक अवरुद्ध छ । मान्छेहरु अवस्था बेहाल छ तर पनि सरकार नसुनेको जस्तो गर्नु दुःखद कुरा हो ।’
पूर्वमन्त्री समेत रहेका आजपा अध्यक्ष साहले यस अघि चाडपर्व वापतको दिइने दशैं बोनस रोकेर बाढीपहिरो पीडितलाई दिनुपर्ने सुझाव दिएका थिए । सरकारले देशैभरीका कर्मचारीलाई चाडपर्व वापत दिने एक महिनाको अतिरिक्त रकम ३० अर्ब बढी हुने भएकाले त्यो रकमले बाढीपहिरो पीडितको घर निर्माण, खाना लगायतका क्षेत्रमा खर्च गर्दा राम्रो हुने सुझाव उनले दिएका छन् ।