धवलागिरि आरोहणका लागि १४ जनाले लिए अनुमति


२०८१ असोज ८ मंगलबार १०:५९ बजे

म्याग्दी । यस वर्षको शरद याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् ।विश्वको सातौं अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । 

विभागका अनुसार धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट रु १६ लाख ८९ हजार ३० सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । गत वसन्त याममा तीन समूहका २२ पुरुष र आठ जना महिलाले धवलागिरि हिमाल आरोहण गर्ने अनुमति लिएका थिए । सोबापत रु ७१ लाख ७० हजार सात सय ५० शुल्क सङ्कलन भएको विभागले जनाएको छ ।

आरोहण अनुमति लिएका आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर आउने तयारी गरेका इटली आधार शिविरका होटल व्यवसायी समेत रहेका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए । पर्यटन विभागको पछिल्लो विवरणअनुसार चालु यामका लागि नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र दुई सय ७४ जना पुरुषले अनुमति लिएका छन् । उनीहरुबाट रु चार करोड ५२ लाख ४५ हजार आठ सय ४८ आरोहण शुल्क प्राप्त भएको छ । 

शरदमा सगरमाथा बाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्ने प्रावधान रहेको विभागले जनाएको छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ ।  शरद् याममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २८ वटा समूहका तीन सय आठ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लुपछि धेरै आरोहणको अनुमति लिएको हिमाल धवलागिरि हो । 

पुथा हिमचुली नौ जना, अन्नपूर्ण चौथो पाँच, थाकर गो इस्ट चार, पुङ्गी पाँच, कुम्भकर्ण छ, अरनीको चुली तीन, अपी छ र मकालु पहिलो आरोहण गर्न दुई जनाले अनुमति लिएका छन् । सरदयाममा नेपालका हिमाल आरोहणका लागि सबैभन्दा बढी चीनका ६१ जनाले अनुमति लिएका विभागले जनाएको छ । गत वसन्त याममा नेपालका ३० वटा हिमाल आरोहणका लागि एक हजार दुई जनाले अनुमति लिएका थिए । उनीहरुले रु ६८ करोड ९९ लाख ७५ हजार तीन सय ११ आरोहण शुल्क तिरेको विभागको वेबसाइटमा उल्लेख छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७