सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी, को बन्लान् प्रधानन्यायाधीश ?
काठमाडौं । संवैधानिक परिषदकाे बैठक सिंहदरबारमा जारी छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहित अन्य रिक्त संवैधानिक निकायमा सिफारिसका लागि बैठक बसेको हो । प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम चर्चामा छ ।
न्याय परिषद्ले गत भदौ २० गते ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो । सिफारिस भएका तिनै आठ जनामध्येबाट एक जनालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने हुन्छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट उमेर हदको कारण अवकाश पाउँदै छन् ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । बुधबारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेर प्रधानमन्त्री केपी ओलीले शुक्रबारका लागि अर्को बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले शुक्रबारको बैठकको तयारीस्वरुप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका थिए ।