दसैंको अग्रिम टिकट बुकिङ खुल्न थाले, असोज १३ देखि ‘सुकिला’ नोट 


२०८१ भदौ २६ बुधबार २१:४५ बजे
फाइल फोटो

काठमाडौं । नेपाली चाड दसैँका लागि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउन थालेका छन् । एक महिनापछि असोज २४ गते फूलपाती छ । विगतमा यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाउने निर्णय गरेपछि मात्र व्यवसायी तात्ने गरेको थिए ।

पूर्व अरनिको यातायात प्रालिको भदौ १५ गते सञ्चालक समिति वैठकले भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो । विजया दशमी मनाउन जाने यात्रुहरूलाई सहज होस् भनेर यही भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ्ग गर्ने निर्णय भएको अरनिको यातायातले निकालेको सूचनामा उल्लेख छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले चाडपर्वको लागि अग्रिम टिकट बुकिङका लागि तयारी सुरू भइनसकेको बताएका छन् । यातायात कम्पनीले अग्रिम टिकट बुकिङ सुरू गरियसकेको विषयमा उनले गाडी सबै निजी कम्पनीको भएकाले उनीहरूले अग्रिम टिकट बुकिङ खोल्नु राम्रो भएको बताएका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपाल पूर्व अरनिको यातायात र पृथ्वी राजमार्ग यातायात कम्पनीले बुकिङ खुल्ला गरेको जानकारी दिएका छन् । ‘नयाँ बसपार्कले नै विभिन्न कम्पनीलाई अग्रिम टिकट बुकिङ खुलाउन दिएका छैनन् । बसपार्कमा गुण्डागर्दी र कार्टेलिङका कारण बुकिङ खुलाउन चाहनेका लागि खुल्ला गर्न चाहेकाले पनि सकेका छैनन् ।’

लामो रुटको बसलाई धेरै ठाउँमा चेकिङको झन्झट्लाई हटाउनुपर्ने, खाल्डाखुल्डी पुर्नुपर्नेलायतमा नेपालले ध्यानाकर्षण गराए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारी पक्ष नतातेपछि आफूहरूले नै बुकिङ खुल्ला गरेको बताए । अघिल्लो वर्ष विभागले फूलपातीभन्दा एक महिना तीन दिनअघि अग्रिम टिकट बुकिङ खुलाएको थियो ।
 

असोज १३ देखि ‘सुकिला’ नोट
नजिकिँदै गरेका दसैं, तिहार र छठका लागि सर्वसाधरणले असोज १३ देखि सुकिला नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै आगामी असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने जनाएको छ ।


नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैकिङ विभागबाट नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिने जनाएको छ । साथै इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट सटही गर्ने सकिनेछ । विगतका वर्षहरूमा दसैं, तिहार र छठका लागि राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको थियो । तर यस वर्ष नयाँ नोटको सट्टा सुकिला (सफा) नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रूपमै यस वर्ष नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्ने निर्णय गरेको थियो । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले यस्तो निर्णय लिइएको जनाएको छ । डिजिटल कारोबारलगायतका कारण ढुकुटीमा सुकिला नोट थुप्रिएपछि त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

 

 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७