पर्यटकीय मौसमको पखाईमा सौरेलीहरु
चितवन । सौराहाका होटल भिष्टाका सञ्चालक रमेश सिलवाल आफ्नो होटलको रङ्गरोगन र सरसफाइमा व्यस्त छन् । अबको एक–दुई दिनमा काम सकेर पर्यटकको पर्खाइमा लाग्ने उनको योजना छ । कोठाभित्रको रङ्गरोगनको काम सक्ने तयारीमा रहेका सिलवालले भने, ‘रङ्गरोगनको काम सकेर टायलमा पुटिन दल्ने काम सुरु गर्दैछौँ, एक दुई दिनपछि त पर्यटक बोलाउनु पर्यो नि ।’
बर्षातको समयमा सौराहा घुम्न आउने पर्यटकको संख्या निकै कम हुने गर्दछ । केही वर्षअघिसम्म सौराहाका होटल व्यवसायीले मजदुर कर्मचारीलाई यो समयमा बिदा नै दिने गर्दथे । सिलवालको भनाइमा आजभोलि थोरै पर्यटक भए पनि मजदुर कर्मचारी होटलमा रहने गर्दछन् ।
जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे पनि यतिबेला होटलको सरसफाइ, रङ्गरोगन, मर्मत सम्भारमा नै व्यस्त छन् । उनले भने, ‘होटललाई राम्रो बनाउने काममा जुटिरहेको छु ।’ असोज लागेपछि पर्यटकको आगमन बढ्ने उनको अनुमान छ । क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष समेत रहेका घिमिरेको भनाइमा वर्षा घटेर बाटो राम्रो भएमा असोज पहिलो साताबाट पर्यटकको आगमन बढ्दै जाने छ ।
आफूले होटलको मर्मतसम्भारका सबै काम यो महिनाभित्रमा सक्ने तयारीका साथ काम भइरहेको उनको भनाइ छ । घिमिरेले भने, ‘अबका केही दिनमा हाम्रो बगैँचामा ढकमक्क फूल देख्न सक्नुहुन्छ ।’ पर्यटकलाई कसरी आकर्षण गर्ने भन्ने तयारीका साथ व्यवसायी जुटेका छन् । होटेल सेभेन लिमिटेडमा भने दुई सातादेखि पर्यटकको आगमन बढ्न थालिसकेको छ । होटलका प्रबन्ध निर्देशक सन्तोष पाठकले भने, ‘हाम्रोमा दुई सातादेखि पर्यटकको राम्रो आगमन हुन थालिसकेको छ ।’ बर्षतको समयमा पर्यटक कम हुँदा रङ्गरोगन र मर्मतसम्भारको काम गरिएको पाठकले बताए ।
होटलको व्यवस्थापन पाठकसहितको समूहले लिएपछि पाँचतारे बनाउने गरी काम थालिएको छ । उनको भनाइमा ९८ कोठा थप गरेर एक हजार क्षमताका दुई हलसहितका संरचना बनाउने तयारी थालिएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसनका पूर्व अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका ८० रेष्टुरेन्ट मर्मत सम्भारको काम सकेर पर्यटकको पर्खाइमा रहेका छन् । झण्डै ३० हात्तीको व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष समेत रहेका खतिवडाले सौराहाका सबै पर्यटन व्यवसायी नयाँ पर्यटकीय मौसममा पर्यटकको पर्खाइमा रहेको बताए ।
क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलियाले बर्षातसँगै बिग्रिएको बाटोका कारण यो वर्षातमा पर्यटकको आगमनमा निकै कमी आएको बताए । पर्यटनसँग सम्बन्धित व्यवसायी अबको मौसममा पर्यटकको राम्रो आगमन हुने अपेक्षासहित तयारीमा जुटेको उनले बताए । सौराहामा एक सय ५० भन्दा बढी होटल रहेका छन् । ती होटलमा छ हजार पाँच सय जना अट्ने क्षमता रहेको छ । जङ्गल सफारीका लागि प्रसिद्धि पाएको चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सौराहा रहेको छ । थपलियाले भने, ‘स्वदेशी र विदेशी पर्यटक अबको मौसममा पहिलेभन्दा बढ्ने हाम्रो अपेक्षा छ ।’ वर्षायाममा चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने गर्दछ । असोज लागेसँगै निकुञ्जभित्रका पर्यटकीय सडक मर्मत गरेर जङ्गल सफारी खुल्ला हुने गर्दछ । चाडपर्वसँगै स्वदेशी पर्यटकको चहलपहल पनि पर्यटकीय क्षेत्रमा हुने गर्दछन् । रासस