धनराजको ज्योतिसँग ‘डिभोर्स’, सहकारीको १५ करोड पर्‍यो जोखिममा !


१२:१२ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङमाथि सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ । रास्वपा सांसदले उनीमाथि छानबिन गर्न समेत संसद्मा माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद गणेश पराजुलीले सहकारीको रकम अपचलनबारे सांसद गुरुङमाथि छानबिनको माग गरेका हुन् । 

‘सहकारीको बचत अपचलन छानबिनका लागि संसदीय समिति बनाउनुपर्छ भनेर यहीँ संसद्मा चर्को नाराबाजी गर्ने मध्येका एक माननीय ज्यूविरुद्ध सहकारीमा ठगी अनुसन्धान गर्नका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी परेको मिडियाहरूमा छ्यापछ्यापी देख्न पाइएको छ । उजुरी नै अन्तिम सत्य त होइन । तर उजुरी नपर्दा, प्रमाण नहुँदा पनि रास्वपाका सभापति रवि लामिछाने ज्यूलाई सदनमा के–केसम्म गरियो ? संसारले प्रष्टसँग देखेको छ,’ पराजुलीले भने, ‘अब माननीय गुरुङको बारेमा छानबिन हुन्छ कि हुँदैन ? भनेर यस सम्मानित सदनमार्फत नेपाली कांग्रेसका माननीयज्यूहरूलाई सोध्न चाहन्छु ।’ 

मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले केही समयअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र संसदीय समितिमा कांग्रेस उपसभापति धनराज गुरुङ र उनकी पत्नी ज्योती गुरुङविरुद्ध १५ करोड रकम हिनामिनाको उजुरी दर्ता गराएका थिए । गत साता संसदीय समितिले अध्यक्ष गुरुङलाई बयानमा बोलाएको र उनले पनि घटनाको बेलिविस्तार लगाएपछि धनराज दम्पती सहकारीको रकम हिनामिनामा तानिएका हुन् । ८२ वर्षीय कुम्भराजका अनुसार ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीको अध्यक्षसँगै उनी कांग्रेस महासमिति सदस्य समेत हुन् ।

कोभिड महामारीका बेला धनराजकी पत्नी ज्योतीले पटक–पटक गरेर सहकारीको १५ करोड रकम हिनामिना गरेको खुलेको गुरुङको बयान छ । त्यतिबेला ज्योती सहकारीको तत्कालीन महाप्रबन्धक थिइन् । उनले रकम हिनामिना गरेको कुरा सहकारीको सञ्चालक समितिलाई थाहा भएपछि धनराजसँग पनि छलफल गरिएको कुम्भराजले बयानमा खुलाएका  थिए ।

त्यतिबेला बोर्ड बैठकमा धनराज र ज्योतीलाई बोलाएर छलफल गरियो । ज्योतीले आफ्नो गल्ती स्वीकारेपछि पति–पत्नीले पैसा फिर्ता गर्ने मौखिक सहमति गरेका थिए । उनका अनुसार धनराज र ज्योतीले त्यतिबेला उक्त रकम थाइल्याण्डको बैंककमा जाउआउ गर्ने एक व्यापारीलाई ऋण दिएको बताएका थिए । चार वर्ष भइसक्दा पनि पैसा फिर्ता नभएपछि आफूले उजुरी दिन बाध्य भएको कुम्भराजले बताएका छन् ।

उनका अनुसार धनराजले ज्योतीसँग डिभोर्स गरेको खबर आएपछि पैसा फिर्ता हुने कि नहुने अन्योलता बढेको छ । धनराजकी पत्नी ज्योति प्रबन्ध निर्देशक रहेको ललितपुरको मितेरी सहकारी संस्थाका अध्यक्ष कुम्मराज राईले ठगीको आरोपसहित प्रहरीमा उजुरी दिएका छन् । सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय समितिमा पनि राईले ज्योतिले १५ करोड अपचलन गरेको बताएका थिए । सहकारी ठगीको आरोप लागेकी ज्योति धनराजसँग सम्बन्ध विच्छेद गरेर अमेरिकामा बस्दै आएको स्रोत बताउँछ ।  पूर्व ब्रिटिस गोर्खा परिवारका सदस्यहरूले सञ्चालन गरेको मितेरी सहकारीमा ज्योतिले प्रबन्ध निर्देशक भएर काम गरेकी थिइन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७