देश छाड्ने अन्तिम समयसम्म यस्तो थियो हसिनाको अन्तिम योजना


१२:३१ बजे

काठमाडौं । एक दशक अघिसम्म धेरैले शेख हसिनालाई ‘आइरन लेडी’ भनेर सम्बोधन गर्ने गर्थे । १५ बर्षसम्म सत्तामा बसेकी प्रधानमन्त्री हसिनाले यसरी देशै छोड्नु पर्ला भनेर धेरैले कल्पना समेत गरेका थिएनन् ।

बंगलादेशको इतिहासमा यसअघि कहिल्यै पनि सत्ताबाट हटाइएपछि कुनै शासकले देश छोडेर भागेका थिएनन् । सोमबार आन्दोलनरत विद्यार्थीहरूको ‘लङ मार्च टु ढाका’ अभियानका क्रममा शेख हसिना र उनकी बहिनी शेख रेहानालाई देश छोड्न बाध्य पारिएको थियो । यसअघि आइतबार राति र सोमबार बिहान नाटकीय घटनाहरूको श्रृङ्खला जारी थियो ।

आइतबार देशभर अवामी लिगका नेता–कार्यकर्ता र प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपमा करिब सय जनाको मृत्यु भएको थियो । जसमा धेरै प्रहरी पनि थिए । प्रदर्शनकारीको चर्को विरोधका कारण अवामी लिगका नेताहरू धेरै ठाउँमा पछि हट्नुपरेको थियो । त्यो साँझ, अवामी लिगका धेरै वरिष्ठ नेताहरू र सल्लाहकारहरूले शेख हसिनालाई स्थिति नियन्त्रण बाहिर गएको बताएका थिए । तर शेख हसिना हार मान्न तयार भइनन् ।

उनले बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा राख्ने अपेक्षा गरेकी थिइन् । तर, सुरक्षा बलका शीर्ष अधिकारीहरूले अब नियन्त्रण गर्न नसकिने बताए । त्यसपछि मात्र हसिना आफ्नो पदबाट राजीनामा दिन मानसिक रूपमा तयार भइन् । शेख हसिनाका छोरा सजिब वाजिदले बीबीसीलाई बताएअनुसार हसिना आइतवार नै राजीनामा दिने सोचमा थिइन् ।

सेनाका एक उच्च अधिकारीका अनुसार जब हसिनाले राजीनामामा हस्ताक्षर गरिन् र उनी हेलिकप्टरमा सवार भइन् त्यसबारेमा विशेष सुरक्षा बल, प्रेसिडेन्ट गार्ड रेजिमेन्ट र आर्मी हेडक्वार्टरका उच्च अधिकारीलाई मात्र थाहा थियो । यो सम्पूर्ण विषय निकै गोप्य राखिएको थियो । हसिना सोमबार बिहान ११ बजे गणभवनबाट निस्किएकी थिइन् । त्यहाँबाट उनी सेनाको हेलिकप्टरबाट त्रिपुराको राजधानी अगरतला पुगिन् । त्यसपछि हसिना र शेख रेहाना विशेष विमानबाट दिल्ली पुगेका थिए ।

 हसिना दुवै विकल्पहरू खुला राख्न चाहन्थिन् । एकातिर उनी देश छाड्न तयार थिइन् भने अर्कोतिर बल प्रयोग गरेर अन्तिम क्षणसम्म सत्तामा बस्न खोजिन् । आइतबार सेनाका तल्लो तहका अधिकृत देशका विभिन्न भागमा सर्वसाधारण र आन्दोलनकारीसँग मिसिएका थिए । स्थितिको समीक्षा गरेपछि सेनाका शीर्ष अधिकारीहरूले अवस्था सत्तारूढ दलको नियन्त्रण बाहिर गएको ब्रिफिङ गरेका थिए ।

सोमबार बिहान प्रहरी र सेनाका जवानहरूले टाढाबाट गण भवन (शेख हसिनाको निवास) जाने सबै सडकहरू घेरा हालेका थिए । सेनाका शीर्ष अधिकारीहरूबाट प्राप्त जानकारीका अनुसार शेख हसिना सुरक्षित रूपमा तेजगाउँ एयरपोर्ट पुग्न सकून् भनेर यस्तो गरिएको थियो ।

बिहान ९ बजेदेखि देशभर डेढ घण्टा इन्टरनेट सेवा बन्द गरिएको थियो । शेख हसिनाको गतिविधिबारे सामाजिक सञ्जालबाट कुनै पनि जानकारी नफैलियोस् भनेर इन्टरनेटमा प्रतिबन्ध लगाइएको सेनाका अधिकारीहरूले बताएका छन् । हसिना हेलिकप्टरमा चढेपछि इन्टरनेट सुचारु गरिएको थियो ।

दैनिक प्रथम आलो पत्रिकाका अनुसार हसिनाले सोमबार बिहान गणभवनमा तीन सेनाका प्रमुख र प्रहरी प्रमुखसँग भेटवार्ता गरेकी थिइन् । अखबारले आफ्नो एक रिपोर्टमा लेखेको छ, ‘हसिनाले स्थिति नियन्त्रण गर्न सुरक्षा बलहरू असफल भएकोमा असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

भेटका क्रममा हसिनाले प्रहरीतर्फ औंला उठाउदै राम्रो काम गरिरहेको बताएकी थिइन् । त्यसपछि प्रहरी महानिरीक्षक (प्रहरी) ले अवस्था कठिन बनेको बताएका थिए । त्यति बेलासम्म सडकमा आन्दोलनकारीको भीड जम्मा हुन थालिसकेको थियो । बैठकमा हसिनालाई भनिएको थियो कि भीडलाई लामो समयसम्म रोक्न सम्भव छैन र मानिसहरू चाँडै गणभवनतर्फ सर्नेछन् । यस्तो अवस्थामा हसिनाको ज्यान खतरामा पर्नेछ ।

ती अधिकारीका अनुसार शेख हसिनाले बल प्रयोग गरेर ‘लङ्ग मार्च टु ढाका’ रोक्न सफल भए पदबाट राजीनामा नदिने सोचेकी थिइन् । तर, त्यसमा असफल भए उनले देश छाड्ने तयारी पनि गरेकी थिइन् । यसअघि पनि देशबाट विस्थापित हुने विषयमा भारतसँग सम्पर्क भइसकेको अधिकारीहरूले बताएका छन् ।

हसिनालाई बंगलादेश वायुसेनाको विमानबाट दिल्लीसँग जोडिएको हिन्डन विमानस्थलमा लगिएको थियो । हसिनाका छोरा साजिब वाजिदले आमाले देश छोड्न नचाहेको बीबीसीलाई बताए । तर परिवारका सदस्यहरू उनको सुरक्षाको बारेमा चिन्तित थिए । त्यसैले परिवारका सबै सदस्यले उनलाई सुरक्षित ठाउँमा जान दबाब दिइरहेका थिए ।

दैनिक प्रथम आलोले लेखेको सोमबार बिहान प्रहरी र सेना प्रमुखहरूले शेख हसिनाकी बहिनी शेख रेहानालाई राजीनामा दिन तयार गर्न पनि कुराकानी गरेका थिए । त्यसपछि रेहानाले हसिनासँग कुरा गरिन् । तर उनी (हसीना) सत्तामा रहन अडिग थिइन् । उही समयमा, एक उच्च अधिकारीले अमेरिकामा हसिनाका छोरा सजीब वाजिदसँग फोनमा कुरा गरे । त्यसपछि सजिबले आमासँग कुरा गरे । त्यसपछि मात्र हसिना आफ्नो पदबाट राजीनामा दिन राजी भएकी थिइन् ।
बीबीसी बंगलाका लागि अकबर हुसेनले तयार पारेको सामाग्रीको नेपाली भावानुवाद
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७