त्रिशुलीमा देखिएको रातो बस्तु बस नभएको पुष्टि, भारतीय उद्धार टोली स्वदेश फर्किदै

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको केराबारी क्षेत्रको त्रिशुली नदीमा देखिएको रातो वस्तु सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता बस नभएको पुष्टि भएको छ ।
स्थानीयले त्रिशूलीबीचमा रातो बस्तु देखिएको भनेर प्रहरीलाई खबर गरे पनि उक्त वस्तु बस नभएको सुरक्षाकर्मीको तालिम प्राप्त उद्धार टोलीले हेरेपछि पुष्टि गरेका हुन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूली नदीमा पानीको भूल्को बीचमा देखिएको वस्तु बस नभएको पुष्टि भएको बताएका छन् । शनिबार बस खोज्ने क्रममा १९ किलोको म्याग्नेटसँगै हराएको रातो रंगको ट्यूव हो कि भन्ने आशंका सुरक्षाकर्मीले गरे पनि बस भने नभएको पुष्टि गरेको हो ।
यता चितवनको सिमलताल पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको खोजी गर्न आएको भारतीय टोली आज (आइतबार) स्वदेश फर्कने भएको छ । एक हप्ताको लागि आएको भारतको विपत व्यवस्थापन गर्ने (एनडिआरएफ) टोली आज फर्कने तयारी भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।
गएको आइतबारदेखि भारतीय टोलीले नेपालको सशस्त्र प्रहरी र नेपाली सेनासँग मिलेर बेपत्ता बसको खोजी गरेको थियो । आजसम्म खोजि गर्ने प्रयास जारी राखेको पनि केही उपलब्धि नभएको र एक हप्ताको समय लिएर आएकोले समय पनि सकिएकाले टोली फर्किन लागेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार, भारतीय टोलीलाई सिकाई समीक्षासँगै धन्यवाद दिएर बिदाई गरिँदैछ । ‘सुरक्षा समितिको बैठकमा भारतीय टोलीको हालसम्मको प्रगति र प्रयोग भएका विधि, प्रविधि र अबको सम्भावनासहितको समीक्षा साथै हाम्रो विपद व्यवस्थापन र खोज तथा उद्धार कार्यमा गरेको योगदानमा धन्यबाद दिन्छौँ’, प्रजिअ यादवले भने ।
भारतबाट १२ जनाको टोली अघिल्लो शनिवार चितवन आएको र आइतबारदेखि काम सुरु गरेको प्रजिअ यादवले बताए । उनीहरुको सोनार क्यामेर सहित त्रिशुली र नारायणी नदीमा चुम्बकको प्रयोग गरेर खोज तथा उद्वार कार्यमा जुटेका थिए । एनडिआरएफले ल्याएको १९ किलोको चुम्बक समेत त्रिशूली नदीले बगाएको छ ।
गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोमा परी दुई वटा बस त्रिशूली नदीमा खसेका थिए । नदीमा बस खस्ने क्रममा तीन यात्रुले पौडिएर ज्यान जोगाए भने कम्तिमा ६२ यात्रु नदीमा डुबे । त्यसयता दुवै बस भेटिएका छैनन् भने नारायणी नदीदेखि गण्डक व्यारेजम्म २४ जनाको शव भेटिएको छ । तीमध्ये १९ जनाको मात्रै सनाखत भएको छ ।