सुरक्षाकर्मीको गोलीले मृत्यु भएका शुकबहादुरको परिवारलाई राहत दिन बर्तौलाको माग
काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको गोली लागि हेटौंडा उपमहानगरपालिका–१४ का शुकबहादुर तामाङको मृत्यु भएको भन्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राहत दिन माग गरेका छन् ।
प्रमुख सचेतक बर्तौलाले आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै तामाङको हत्या भएकाले राहत दिन माग गरेका हुन् । ‘हेटौँडा उपमहानगरपालिका–१४ निवासी शुकबहादुर तितुङ, उनको घर आँगनमै जंगल जोडिएको छ । जहाँ मध्यवर्ती क्षेत्र पर्छ । मध्यवर्ती क्षेत्र पर्ने वनभित्र केही साथीहरूसहित उनी गएका थिए । पर्सा पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीहरू, त्यहाँ खटिएका नेपाली सेनाले शुकबहादुर तितुङ लगायत त्यहाँका जनताहरूलाई आक्रमण गरे । अस्ती असार ७ गते शुकबहादुर तितुङलाई गोली हानेर हत्या गरे,’ उनले बैठकमा भने ।
वन जंगल र त्यहाँको जैविक विविधताको संरक्षण गर्ने नागरिकमाथि दिनदहाडै गोली हानिएको भन्दै उनले क्षतिपूर्तिको माग गरेका छन् । सामान्य मानवीयता पनि नराखी छातीमा गोली ठोकेर हत्या गर्नेसम्मको ठूलो जघन्य अपराध भया । लोकतन्त्रमा दिनदहाडै नागरिकलाई गोली ठोकेर मार्दिनेसम्मको काम भयो ! घटना भइसक्यो । दोषी सुुरक्षाकर्मीहरूलाई पहिचान गर्ने, कारबाहीको तहमा अगाडि लैजाने र पीडित परिवारलाई क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाउन आग्रह गर्छु,’ उनले भने ।
उनले निकुञ्ज आसपास र मध्यवर्ती क्षेत्रमा विकास निर्माणका परियोजना अगाडि बढाउन त्यहाँका सुरक्षाकर्मीले रोक्ने गरेको बर्तौलाले बताए । यसलाई रोकी मध्यवर्ती क्षेत्रमा विकास–निर्माणमा सहजीकरण गर्न उनले सकारलाई आग्रह समेत गरे ।