टायर पड्किएर स्कारपियो जीप सडकबाट खस्यो : दुई भारतीयको मृत्यु, चार जना घाइते

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको धन्सार पुल नजिक टायर (चक्का) पड्किएर भारतीय नम्बर प्लेटको स्कारपियो सडकबाट भिरमा खस्दा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दुई भारतीय छन् । दुर्घटनामा चार जना घाइते भएका छन् ।
सर्लाहीको बाग्मती नगरपालिकास्थित भरत ताल घुमेर बाराको पिलुवा जाँदै गरेको बिआरजिरो ५ एटि ५९६३ नम्बरको स्कारपियो जीपको पछाडि बायाँ साइडको चक्का पड्किएपछि अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो । जीप खयरको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रुखमा ठोक्किएर क्षतिग्रस्त जीपमा सवार दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । जीपमा सवार चार जना घाइते भएका छन् । घाइतेको बारास्थित निजगढ सामुदायिक अस्पतालमा उपचार गरिएको प्रहरीले जनायो ।
दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक सुरेन्द्र विक्रम बर्तौलाको टोली घटनास्थल पुगेको थियो । प्रहरी निरीक्षक बर्तौलाका अनुसार दुर्घटनामा परी जीपमा सवार भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत झिट्काही –४ का ३५ वर्षीय तमन्ना शेखको मृत्यु भएको छ । दुर्घटनामा अर्का गम्भीर घाइते २१ वर्षीय ईर्फान आलमको मेडिसिटी बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । आलमको मुख र टाउकोमा चोट लागेको थियो । स्कारपियो चालक २२ वर्षीय सोहेल अमिर घाइते छन् ।
अर्का घाइते आशिष रेजाको ढाड, कम्मर र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । जीपमा सवार उल्लाह शेखको टाउकोमा चोट लागेको छ । सोही जिपमा सवार सद्धाम हुसेनको दुबै हात, खुट्टा र ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनायो । घाइते सबैको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनायो ।