पाँच करोड २३ लाखको मुद्दामा बागमतीका मेयर थापासँग तीन लाख धरौटी माग
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनको अभियोग लागेका सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापासँग विशेष अदालतले तीन लाख धरौटी मागको आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले थापासँग तीन लाख रुपैयाँ धरौटी माग गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
थापामाथि गत २८ चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच करोड ३३ लाख बढी बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो । उनले उल्लेखित रकम बराबरको सम्पत्तिको वैध स्रोत खुलाउन नसकेपछि उनीमाथि मुद्दा दायर भएको हो । थापा मेयरमा निर्वाचित भएको मितिदेखि उनले उक्त रकम अवैध रूपमा आर्जन गरेको अख्तियारको दाबी छ । ०७४ को असोजदेखि ०७९ माघसम्म सार्वजनिक सेवामा रहँदा थापाले उक्त रकम भ्रष्टाचारबाट आर्जित गरेको दाबी अखितयारको अभियोगपत्रमा छ ।
मेयर थापाका साथै यस मुद्दामा जफत प्रयोजनका लागि श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइबुहारी द्वारिका राउतलाई प्रतिवादी बनाइएको छ । मेयरविरुद्ध गत २९ जेठमा भ्रष्टाचारको अर्को मुद्दा समेत दायर भएको छ । उनी समेतले भरत ताल निर्माणका क्रममा ३० करोड बढी अनियमितता गरेको भन्दै मुद्दा दर्ता भएको थियो ।