वैदेशिक रोजगारको ठगीविरुद्ध आईटी आर्मीद्वारा वैदेशिक रोजगार विभाग घेराउ

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग आज (शुक्रबार) पनि घेराउ गरेको छ । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा विभिन्न मागहरु राख्दै विभाग घेराउ गरिएको हो । वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै विभाग घेराउ एवं धर्ना दिइएको हो ।
आईटी आर्मीका अध्यक्ष साहका अनुसार विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजेन्टलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री–भिसा फ्री–टिकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । यसअघि आईटी आर्मीले ११ बुँदे मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथै विभागलाई ज्ञापन पत्र समेत बुझाईसकेको छ ।
‘लाखौं युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । ५–१० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’, साहले भने । संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिए पनि अहिलेको शासन सत्ताले युवाहरुलाई रोजगारीको अवसर दिन नसकेको तर देशभित्रको उद्योगहरुमा विदेशी कामदारहरुले अवसर पाइरहेको उनले बताए ।
उनले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको पनि बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनको आरोप छ । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनुपर्ने आईटी आर्मीको माग छ ।
‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुको खुनपसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ’ उनले भने । असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्यूलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरे । यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।
आईटी आर्मीका उपाध्यक्ष सुमन यादवले विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार र ठगी भइरहेको बताए । अहिलेसम्म यी मुद्दामा कुनै राजनीतिक दलहरुले आवाज नउठाई दिएकाले आफूले सशक्त रुपमा आवाज उठाउँन विभाग घेराउ गरेको उनले बताए । आईटी आर्मीका उपत्यका अध्यक्ष टाईसन लामाले नेपालमा सदियौंदेखि वैदेशिक रोगजारीमा पठाउने परम्परा चलिरहेको र कुनै न कुनै रुपमा यसमा नेताहरुको संलग्नता रहेको बताए । नेताहरुले मेनपावरको माध्यमबाट युवाहरुलाई लुटिरहेको उनले बताए ।