विभागीय प्रमुखको अनुदानको गाडी महानगरले ‘खोस्यो’, श्रीमतीले प्रयोग गरेको आरोप


२०८१ असार ६ बिहीबार १५:४७ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक विभागीय प्रमुखलाई चढ्न दिएको गाडी आज (बिहीबार) फिर्ता लिएको छ । गाडी दुरुपयोग भएको भन्दै महानगरले फिर्ता लिइएको हो । काठमाडौं महानगरपालिकाले महानगरको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले आफ्नी श्रीमतीलाई प्रयोग गर्न दिएको उजुरीका आधारमा गाडी फिर्ता लिएको हो । बिहीबार श्रेष्ठको बालाजुस्थित निवास पुगेको महानगरको टोलीले गाडी फिर्ता लिएको हो ।

श्रेष्ठले प्रयोग गर्दै आइरहेको गाडी बाहेक अर्को गाडी पनि घरमा लगेको भन्ने सूचना पाएपछि महानगरको टोली उनको घर पुगेको थियो । जहाँ महानगरको बि एए ४८२० नम्बरको मारुती सुजुकी कार फेला परेको छ । विभागीय प्रमुखहरूलाई गाडी सुविधा दिइएको छ । एउटा गाडी उहाँहरूले पाउनु हुन्छ । प्रयोग पनि गरिरहनु भएको छ । त्यो बाहेक पनि उहाँले अर्को गाडी लिएर श्रीमतीलाई दिएर घरायसी प्रयोगमा लगाएको सूचना पाएपछि घरमा पुग्दा यो कार भेटियो ।’ ६ महिनादेखि गाडी श्रेष्ठको घरमा प्रयोग गरिरहेको पाइएको महानगर स्रोत बताउँछ ।

गाडीको चाबी पनि श्रेष्ठकी श्रीमतीसँग फेला परेको बताइएको छ । महानगरको टोलीले गाडी कार्यालयमा ल्याएर राखेको छ । महानगरका मेयर बालेन्द्र शाहको सचिवालयले यो विषयमा थप छानबिन गरेर आवश्यक कारबाही गर्ने जनाएको छ । सो मारुती कार महानगरपालिकालाई युरोपियन युनियनले अनुदानमा दिएको महानगर स्रोतले बतायो । यता विभाग प्रमुख श्रेष्ठले भने आफूले नै त्यो गाडी प्रयोग गरिरहेको बताएका छन् । ‘त्यो गाडी मैले नै प्रयोग गर्थे। आज बिग्रिएकाले अर्को गाडीमा आएको थिएँ,’ उनले भने, ‘गाडी बनाउन घरमा मेकानिकल बोलाएको थिएँ । बनाउने भनेर घरमा राखिएको हो’, उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७