खेलकुदमन्त्री श्रेष्ठलाई समर्थन गर्दै संसदमा चित्रबहादुर केसीको झ्यारे गीत

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठमाथि धेरैले आशा गरेर बसेको भए पनि खेलकुदमन्त्री आफै पीडामा रहेको टिप्पणी गरेका छन् ।
आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा खेलकुद मन्त्रालयका लागि छुट्याइएको बजेटमाथिको छलफलमा भाग लिँदै केसीले भने, ‘म पनि यो संसदीय व्यवस्था भएपछि एक पटक सहकारी मन्त्री भएको थिएँ । अहिले खेलकुद मन्त्रीले जे पीडा बोक्नु भएको छ, मैले पनि त्यही बोकेको थिएँ ।’
पहाडतिर झ्याउरेमा अहिलेका खेलकुदमन्त्रीको पीडा सम्झाउने गीत प्रचलनमा रहेको उनले सुनाए । ‘पहाडमा झ्याउरे गीत गाउँछन्, थुकम भने गाईंको दूध, निलम् भने रम’, केसीले भने, ‘सरकारमा बस्नुपरेको छ, बजेट यस्तो भेदभावपूर्ण छ ।’ मन्त्रीमाथि धेरैले राम्रो काम गर्नुहोला भनेर आर्शिवाद दिइरहेको भए पनि सरकार कति दिन टिक्ने भन्ने नै नभएकाले त्यसको अर्थ नभएको उनले बताए ।
‘अहिले खेलकुद मन्त्रीलाई राम्रो गर्नुहोस्, यो भन्दा राम्रो गर्नुहा्ेस भनेर हामीले भनिराखेका छौं,’ केसीले भने, ‘यो सरकार कति दिन हुने हो, उहाँ खेलकुद मन्त्री कति दिन हुने हो, किन हामीले त्यस्तो आर्शिवाद दिने गरेका छौं ।’ ‘१८ महिनामा तीनचोटी गठबन्धन फेरिन्छ । उहाँ के आशाले धैर्य भएर काम गरुला भनेर बस्ने ?,’ उनले प्रश्न गरे ।