बजेट पुनर्लेखन गर्नुपर्छ, प्रधानमन्त्री र अर्थमन्त्रीले हस्तक्षेप गरुन् : कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी आर्थिक वर्षको बजेटको मूल मान्यतामा नै त्रुटी रहेकाले पुनर्लेखन गर्नुपर्ने बताएका छन् ।
संघीय संसद भवनमा पत्रकारहरूलाई बजेटबारे प्रतिक्रिया दिँदै प्रमुख सचेतक लेखकले मन्त्रीहरूले आफ्नो–आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताए । बजेट विनियोजनमार्फत शक्ति र सत्ताको दुरुपयोग भएको बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई मन्त्रालयहरूको बजेट पुनर्लेखन गर्न सुझाए ।
‘बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मूल मान्यतामा नै त्रुटी भयो । मन्त्रीजीहरूले आफ्नो–आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र अत्यन्त ज्यादा दुरुपयोग भयो । यो शक्तिको पनि दुरुपयोग हो, सत्ताको पनि दुरुपयोग हो,’ लेखकले भने, ‘प्रतिपक्ष त झन संयमित छ, सत्तापक्षको स्थिति जुन देखिएको छ, यसले वास्तवमा प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीहरूलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनु पर्छ ।’
छलफलका क्रममा सदनमा कुरा उठिसकेपछि राजनीतिक र नैतिक दबाबमा प्रधानमन्त्री हुनुपर्ने लेखकले बताएका छन् । ‘प्रधानमन्त्रीले पनि केही गर्न खोज्नु भएको जस्तो, अर्थमन्त्रीले पनि केही गर्न खोज्नु भएको जस्तो देखिएको हो । तर मन्त्रालयगत विनियोजनमा जँदा लज्जास्पद स्थिति देखापर्यो,’ उनले थपे, ‘यो सिद्धान्ततः नै गलत विनियोजन भएको छ । यो सरकारका लागि उचित विषय होइन । प्रधानमन्त्री र अर्थमन्त्रीले यो बजेट विनियोजनमा हस्तक्षेप गर्नुपर्छ । ती मन्त्रीलाई यो विनियोजन कसरी गर्नुभयो भनेर प्रश्न गर्नुपर्छ र मन्त्रालयको बजेट संशोधन गर्नुपर्छ । होइन भने प्रधानमन्त्री र अर्थमन्त्री नै यो बजेटमा बेठिक ढंगले वितरण गर्ने ढंगमा संलग्न हुनुहुथ्यो भन्ने निस्कर्षमा हामी पुग्छौँ ।’ सांसदहरूले मन्त्रालयगत विनियोजनका क्रममा बजेटका पुस्तक च्यात्नु र मौन धारण गर्नु सामान्य कुरा नभएको प्रमुख सचेतक लेखकको भनाइ थियो ।