आयोजक वेष्ट इण्डिज समूह विजेता बन्दै ‘सुपर–८ मा प्रवेश

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा वेष्ट इण्डिजले अफगानिस्तानलाई पराजित गरेको छ । सेन्ट लुसियाको ग्रोस आइलेटस्थित ड्यारेन सामी क्रिकेट मैदानमा मंगलबार बिहान सम्पन्न खेलमा वेष्ट इण्डिजले अफगानिस्तानलाई १०४ रनले पराजित गरेको हो ।
जितसँगै वेष्ट इण्डिज समूह ‘सी’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको छ । अफगानिस्तान भने समूह उप–विजेताका रूपमा ‘सुपर–८’ चरणमा प्रवेश गरेको छ । योसँगै नवौँ विश्वकपमा समूह चरणको खेल पनि सकिएको छ । ‘सुपर–८’ चरणमा पुग्ने आठवटै टोलीको टुंगो लागिसकेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । जारी विश्वकपमा यो सबैभन्दा ठूलो स्कोर पनि हो । वेष्ट इण्डिजका लागि निकोलस पूरनले ५३ बलमा ९८ रन बनाए । जोन्सन चार्ल्सले ४३ र रोभम्यान पावेलले २६ रन बनाए ।
जवाफमा अफगानिस्तान १६.२ ओभरमा ११४ रन बनाएर अलआउट भयो । अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्वाधिक ३८ रन बनाए । औबेद म्याकोयले ३ विकेट लिए । गुडकेश मोती र अकिल हुसेनले २–२ विकेट लिए । आन्द्रे रसेल र अल्जारी जोसेफले १–१ विकेट लिए ।