थलीमा मृत्त भेटिएका कृष्णका छोराको बयान : कोठा भाडा तिर्न नसकेर ट्याक्सीमै सुत्थ्यौं


२०८१ जेठ ८ मंगलबार १०:५४ बजे

काठमाडौं । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मृत फेला भेटिएका भक्तपुर नगरपालिका–७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अधिकृतहरुका अनुसार, प्रारम्भिक अनुसन्धान र उनको छोराछोरीसँग सोधपुछका क्रममा उनले ब्लेडले घाँटीमा काटेर आत्महत्या गरेको हुनसक्ने देखिएको हो । प्रहरीले नगरकोटीका छोरा २१ वषीय रिचेनलाई फर्पिङबाट घाइते अवस्थामा नियन्त्रणमा लिएको छ । ‘बुबाले आत्महत्याका लागि मुखमा कपडा राखेर ब्लेडले घाँटी रेट्ने तरिका सिकाएको’ उनले प्रहरीसँग बयान दिएका छन् ।

कृष्ण नगरकोटी चरम गरिबीका कारण विक्षिप्त अवस्थामा पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । कृष्णको शव कागेश्वरी मनहरा नगरपालिका–५ मुलपानी–साँखु सडक खण्डअन्तर्गत थलीको उकालामा मंगलबार बिहान फेला परेको थियो । सडकमुनि निर्माणाधीन पर्खालनजिकै धारिलो हतियारले घाँटी काटिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतकका छोरा रिचेन दक्षिणकाली नगरपालिकको चाल्नाखेलमा घाइते अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक कृष्ण ट्याक्सी चलाउँदै आएको बयान छोराले दिएका छन् । स्थायी घर भक्तपुर चाँगुनारायण नगरपालिका–५ छालिङ भए पनि उनीहरू काठमाडौंको रवी भवनस्थित गणेशस्थानमा बस्दै आएका थिए ।

पछिल्लो तीन महिनादेखि उनीहरूले घर भाडा तिर्न नसकेको रिचेनको भनाइ छ । मृतक कृष्णको साथमा छोरा रिचेन र छोरी रश्मी पनि बस्दै आएको खुलेको छ । कोठा भाडा बुझाउने पैसा नभएपछि बाबु, छोरा र छोरी तीनै जना ट्याक्सीमै बस्ने गरेको बयान रिचेनले दिएका छन् । छोरा र छोरीको मानसिक अवस्था साधारण नदेखिएको प्रहरीले बताएको छ । मृतक कृष्ण र छोराछोरी सोमबार राति १० बजेसम्म सँगै रहेको पनि अनुसन्धानबाट खुलेको छ । सोमबार राति १० बजेको समयका सेतोपुल नजिकै ट्याक्सी बिग्रिएको र बाबु छोरा मिस्त्री खोज्न गएको बयान छोरी रश्मीले दिएकी छन् । उनी भने सेतोपुल सडकखण्ड नजिकै ट्याक्सीमै फेला परेकी थिइन् ।

मिस्त्री खोज्न हिँडेका बाबु बिहान झण्डै ५ किलोमिटर पर थलीको उकालोमा मृत फेला परेका थिए । रुमालले मुख ढाकेको अवस्थामा उनको शव फेला परेको थियो । शव नजिकै दुईटा ब्लेड फेला परेको प्रहरीले बताएको छ । घाँटी काटिएको अवस्थामा कृष्णको शव फेला परेको थियो । मृतकका भाइ सहकुलका अनुसार रिचेन चाल्नाखेलमा घाइते अवस्थामा रहेको भनेर सोमबार राति नै प्रहरीले जानकारी गराएको थियो । त्यसपछि आफूहरू राति नै दक्षिणकाली पुगेको सहकुलले बताए ।

बिहानपख चाँगुनारायण नगरपालिका–५ का वडाध्यक्षले कृष्ण मृत फेला परेको सुनाएपछि मात्रै घटना थाहा पाएको उनले बताएका छन् । ‘उहाँहरू गाउँमा बस्नु हुँदैनथ्यो । बुवाको मृत्यु हुँदा मात्रै दाजु गाउँ आउनु भएको मलाई थाहा छ । भाउजूले पनि छाड्नु भएको रहेछ,’ सहकुलले सुनाए । छोरा रिचने र छोरी रश्मीलाई प्रहरीले सोधपुज गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । घटनाबारे प्रहरी बृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७