चुनाव प्रचारमै खटिरहेका बेला बझाङका एमाले उम्मेदवार भण्डारीलाई पितृशोक

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर–१ को उपनिर्वाचनका उम्मेदवार दमनबहादुर भण्डारीलाई पितृशोक परेको छ । एमालेका उम्मेदवार भण्डारीका बुबा चक्रबहादुर भण्डारीको ८८ वर्षको उमेरमा आज (मंगलबार) बिहान निधन भएको हो ।
उपनिर्वाचनको चुनावी प्रचारमा जुटिरहेका बेला उम्मेदवार भण्डारीका बुबाको निधन भएपछि एक दिनलाई प्रचारप्रसार स्थगित गरिएको एमालेका बझाङ जिल्ला इन्चार्ज राजेन्द्र रावलले जानकारी दिए । मृतक भण्डारी दुई हप्तादेखि बिरामी थिए ।
छबिस पाथीभेरा गाउँपालिका– १, भण्डारीगाउँनिवासी उनको बुधबार बिहान अन्तिम संस्कार गरिने आफन्तजनले बताएका छन् । अन्तिम संस्कारपछि बुधबारदेखि नै चुनावी अभियानलाई निरन्तरता दिइने इन्चार्ज रावलले जानकारी दिए । गत निर्वाचनमा बझाङ–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।