जिप चालकको मनपरीको कारण १० जनाले गुमाए ज्यान : १३ क्षमताको जिपमा बोकेका थिए २६ यात्रु

पाल्पा : १३ जनाको सिटपास जिपमा २६ यात्रु थिए । छतमा राखिएका चामलका बोरा र तेलका पेटीले अझै बोझ बढाएको थियो । उकालो कच्ची सडकमा ‘ओभरलोड’ थेग्न नसक्दा जिप दुर्घटनामा पर्यो । पाल्पाको तिनाउँ गाउँपालिका– ६ मस्याममा मंगलबार भएको दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १६ यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठका अनुसार आठजनाको घटनास्थल र दुईजनाको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो । घाइतेको मेडिकल कलेजमा उपचार भइरहेको छ ।
तानसेनबाट तिनाउँको शिखरडाँडाका लागि छुटेको लु.१ज २३७१ नम्बरको जिप गन्तव्यनजिकै मंगलबार पौने ५ बजे दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा पाल्पाका सात र रुपन्देहीका तीनजनाको मृत्यु भएको छ ।
डिएसपी श्रेष्ठका अनुसार १३ सिट क्षमताको मुस्ताङ जिपमा २६ यात्रु रहेकाले ‘ओभरलोड’ भएर दुर्घटनामा परेको आकलन गरिएको छ । ‘प्रारम्भिक हिसाबले हेर्दा सिट क्षमताभन्दा बढी यात्रु देखिन्छ । छतमा चामलका बोरा र तेलका पेटी पनि थिए,’ उनले भने, ‘उद्धारको काम सकिएपछि चालकसँग सोधपुछलगायत अनुसन्धान गर्छौँ ।’
जिप सडकबाट झन्डै सय मिटर तल छाँगोमा खसेको थियो । मृतक र घाइतेलाई एक्स्काभेटरको सहायताले निकालिएको पाल्पा प्रहरी प्रमुख हेरम्ब शर्मा कट्टेलले बताए ।
स्थानीय जीवन घिमिरे पनि तानसेन–तिनाउँ खण्डमा सार्वजनिक सवारीसाधनले सिट संख्याभन्दा धेरै यात्रु बोक्ने गरेको बताउँछन् । ‘कोचाकोच यात्रु राख्छन् । कच्ची सडक छ, त्यसमा पनि उकालो बाटोमा जिप नियन्त्रणबाहिर भएर दुर्घटना हुने गरेका छन्,’ उनले भने । उकालो कच्ची बाटोको स्तरोन्नतिको काम भइरहेको खबर नयाँ पत्रिका दैनिकमा उल्लेख छ ।