३२ प्रमुख सुबेदार / सुबेदारहरू सहायक सेनानीमा बढुवा, २३ सहायक सेनानीलाई दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार / सुबेदारहरूलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज (मंगलबार) जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ति गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा गर्नुपर्ने व्यवस्था अनुरूप बढुवा भएका प्रमुख सुबेदार / सुबेदार ३२ जना मध्ये विभिन्न संयुक्त राष्ट्रसंघीय मिसन (शान्ति सेना) मा खटिएका ९ जना बाहेक २३ जनालाई २०८० माघ २३ गते दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
उक्त अवसरमा प्रधान सेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देलबाट पनि पदोन्नति भएका पदिकहरुलाई सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो । समारोहमा रथीवृन्द, अधिकृतहरूका साथै बढुवा हुनु भएका अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको सेनाले जानकारी दिएको छ । लामो समय सेनामा रहेर योगदान पुर्याएका एवं अनुभवी पदिकहरुको अधिकृत दर्जामा बढुवाको व्यवस्थाले आन्तरिक वृत्ति विकासमा राम्रो अवसर सिर्जना गरेको छ ।