शारदा कडायतको निवेदन आज पनि ‘हेर्न नभ्याइने’ मा
काठमाडौँ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय समेत भोगेका रेशम चौधरीलाई सरकारले माफी दिएको भन्दै त्यसविरुद्ध परेको रिट निवेदन आज (सोमबार) पनि ‘हेर्न नभ्याइने’ मा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासको पहिलो नम्बरमै पेसी चढेको भए पनि हेर्न नभ्याइनेमा राखिएको छ ।
टीकापुरमा रेशम चौधरीको संलग्नतामा नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहरासहित आठ जनाको हत्या भएको ठहर भएको थियो । सरकारले उनै चौधरीलाई कैद मिनाहा गरेपछि इन्स्पेक्टरकी श्रीमती शारदा कडायतसहितले कात्तिक २१ गते पुनः निवेदन दिएकी थिइन् । उक्ति निवेदनमाथि अहिलेसम्म चार पटक पेसी चढेर पनि सुनुवाइ हुन सकेको छैन ।
आज भने न्यायाधीश चुडाल अर्को इजलासमा व्यस्त भएकोले हेर्न नभ्याइनेमा परेको सर्वोच्च प्रशासनले जनाएको छ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायत असोज ३ गते कैद माफी पाएर रिहा भएका थिए ।
२०७२ भदौमा कैलालीको टीकारपुरमा ८ सुरक्षाकर्मी र एक दूधे बालकको ज्यान जाने गरी भएको उक्त हत्याकाण्डमा जन्मकैद सजाय सुनाइएका रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा पाएर गत जेठ १५ गते नै छुटेका थिए ।
रेशम चौधरीको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी टीकापुर घटनामा श्रीमान् गुमाएकी शारदा कठायतले गत जेठ १६ गते नै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । हत्याकाण्डमा दोषी ठहर भएका व्यक्तिलाई माफी दिएको भन्दै सरकारको आलोचना भइरहेको छ ।