नयाँपुस्तालाई देशमा अतुलनीय योगदान दिएका व्यक्तिहरु चिनाउनु पर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ पुस्तालाई देशमा अतुलनीय योगदान दिएका व्यक्तिहरु चिनाउनु पर्ने बताएका छन् । आज (मंगलबार) दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उनले यस्तो बताएका हुन् । वर्षभरका कार्यक्रम बनाउँदा देशका लागि अतुलनीय योगदान दिएका डा.गौरीशंकरलाल दासको कार्यक्रम राख्नुपर्ने उनको भनाइ छ ।
उनले डा. दासले गरेका जीवनका कामहरुको बारेमा नयाँ पुस्तालाई चिनाउन र बुझाउन आवश्यक देखिएको पनि बताए । नेपाली समाजमा गौरीशंकर दास जस्तो प्रवृत्ति र पात्र पनि छन् भनेर देखाउन सक्नुपर्ने उनले बताएका छन् ।
‘हामीले वर्षभरका कार्यक्रम बनाउँदै गर्दा खास गरी हामीले नौ जवानहरुलाई डा.गौरीशंकरलाल दास चिनाउने केही कार्यक्रम राख्नुपर्छ । त्यसमा यहाँहरूको साथ हामी चाहन्छौँ । उहाँसँग जसले सहयात्रा गरेको छ, जसले उहाँका योगदानको बारेमा चिन्यो त्यो त थाहा छँदैछ, नौ जवानलाई किन बताउनुपर्ने छ भने हामी कहिले काहीँ यति धेरै राजनीतिका बारेमा कुरा गर्छौं, कहिले काहीँ के लाग्छ भने हामी रित्तो थियौँ भन्ने लाग्छ, तर हामी आधा भरिएका र आधा खाली थियौँ ।’
उनले भने, ‘नेपाली राजनीति आफ्नो बाटो हिँड्यो होला तर नेपाली समाजमा गौरीशंकर दासजस्तो प्रवृत्ति र पात्र थियो जसले समाजमा यो त्यो नभनिकन काम गर्नुभयो। आफ्नो कर्म र धर्म छोड्नु भएन । समाजसेवी र चिकित्सकको रुपमा । कहिले नथाकी र नअल्मलिकन उहाँले काम गर्नुभएको छ । राजनीतिबाट अलग रहेर समाजका लागि काम गरिरहनु भएको छ ।’ महामन्त्री थापाले समाजमा आफ्नो र अर्काको नभनि नथाकी कन जनसेवामा खटिने व्यक्तिहरूलाई सरकारले सम्मान गर्न सक्नुपर्ने बताए ।