‘ई’ लाई भेट्न पुगिन् उपमेयर डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि आठ दिनदेखि उभिरहेका अभियन्ता ‘ई’ लाई भेटेकी छन् ।
आज (मंगलबार) बिहान ईः लगायतका अभियन्तालाई भेटेकी उनले करुणादायी सरकारको अवधारणाप्रति आफू प्रतिवद्ध रहेको बताएकी छन् । उनले फुटपाथबाट विस्थापित भएकाहरुलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध रहेको बताउँदै आफ्नो ठाउँबाट पहल गर्ने बताइन् ।
काठमाडौं महानगरपालिकाले चुनावी बाचा विपरीत वैकल्पिक व्यवस्था विना नै फुटपाथ व्यवसायीहरुलाई हटाएको विरोधमा ईः गत मंगलबारदेखि काठमाडौं राष्ट्रिय सभा गृह अगाडि उभिइरहेका छन् । लगातार उभिदा ईःको खुट्टा सुन्निएका छन् । ईःले काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर डंगोललाई आफ्ना चुनावी वाचा पूरा गर्न ‘नागरिक जवाफदेहिता’ को माग गर्दै १९९ घण्टासम्म उभिने विरोध कार्यक्रम सुरु गरेका थिए । ईःले उभिएर विरोध सुरु गरेको १६५ घण्टापछि उपमेयर डंगोलले भेटेर उनका मागबारे चासो व्यक्त गरेकी हुन् ।